
काठमाडौं । राजसंस्था पुनस्थापनको माग गर्दै आह्वान गरिएको शुक्रबारको प्रदर्शन एकाएक हिंसात्मक बनेको छ । सरकारले राजावादीहरुलाई काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनका लागि ठाउँ छुट्याईदिएकोमा दिउँसो १ बजे प्रदर्शनकारीहरु भेला हुदै गर्दा नै प्रहरीले हस्तक्षेप गरेपछि स्थिति भड्किएको हो । जसका कारण प्रहरीले गोली चलाएको गोली लागेर चार जना घाइते भए भने आन्दोलनकारीहरुले थुप्रै ठाउँमा आगजनी समेत गरे ।
राजसंस्था पुनस्र्थापनाको नाममा तिनकुनेमा भएको प्रदर्शनको । विभिन्न ठाउँबाट ¥याली निकालेर प्रदर्शनकारीहरु तीनकुनेको सभास्थलमा नपुग्दै तिनकुने क्षेत्र तनावग्रस्त बन्यो । आन्दोलनको जनकमाण्ड बनेका दुर्गा प्रसाई कार्यक्रम स्थलमा आउँदै गर्दा प्रहरीले हानेको अश्रुग्यासमा प्रसाई पनि परे । त्यसपछि प्रसाई आफैंले गाडी दौडाएर प्रहरीको घेरा तोडेर अघि बढ्न खोजेपछि स्थिति एकाएक भड्किएको थियो ।
त्यसलगत्तै प्रहरीले प्रदर्शनकारीहरुमाथि लाठीचार्ज र अश्रुग्यास बर्षाउन थाल्यो । प्रदर्शनकारीले तिनकुनेमा एउटा निजी घरपनि जलाईदिएका छन् । घरको छतबाट प्रहरीले तल प्रहार गरेको आरोपमा प्रदर्शनकारीले यो घरमा आगो लगाएका हुन् । प्रदर्शनकारीले घरमा आगो निभाउन गएको दमल र एम्बुलेन्समथि पनि ढुङ्गामुढा गरे । स्थिती झन् झन् उग्र बनेपछि आमसभाका लागि मञ्चमा बसेका राजावादी नेताहरु कार्यक्रम स्थल छोडेर हिँडेका थिए ।
प्रदर्शनकारीहरुले पार्टी कार्यालय, सरकारी कार्यालय, मिडियाका कार्यालयहरुमा पनि तोडफोड र आगजनीको कोशिस गरेका थिए । प्रदर्शनकारीहरुले कोटेश्वरको प्रहरी कार्यलयमा आगजनीको कोशिस गरेका प्रदर्शकारीहरुले नेकपा एकीकृत समाजवादीेको पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालयका सामग्री बाहिर निकाले आगजनी गरे । कोटेश्वरस्थित माओवादी पार्टी कार्यलय जलाउन अघि बढेका प्रदर्शकारीहरुलाई पनि प्रहरीले रोकेको थियो भने माओवादी मूख्यालयमा सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।
त्यसैगरी प्रदर्शकारीहरुले जडिबूटीस्थित जडिबूटी प्रसोधन कार्खानामा तोडफोड गर्नुका साथै त्यहाँको परिसरमा राखिएका गाडीहरुमा आगो लगाईदिएका छन् । सिनामंगलस्थित नागरिक उड्ययन कार्यालय र कोटेश्वरको भाटभटेनी स्टोरमा पनि तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले बालकुमारीमा एउटा सरकारी गाडीमा पनि आगजनी गरेका छन् । प्रदर्शनकारीहरु ठाउँ ठाउँमा आगजनी र तोडफोड गर्दै हिंड्दा प्रहरी भने निरीह देखिएको थियो ।
प्रदर्शनकारीहरुले दलहरुका पार्टी कार्यलयलाई निशाना बनाएपछि नेकपा एमालेको पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । हिन्दू अधिराज्य पुनस्थापना र संघीयता खारेजकीको मूख्य एजेण्डा बनाएर शुरु गरिएको आन्दोलनको पहिलो दिन नै हिंसात्मक बनेपछि आगामी दिनमा आन्दोलन कसरी अघि बढ्ने हो र त्यसबाट के कति क्षति हुने हो भन्ने चिन्ता बढेको छ । यो अवस्थामा सत्ता पक्षले संयमता अपनाउनु जरुरी देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्