
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबारको जनप्रदर्शनका क्रममा भएको घटनामा सरकारले जिम्मेवारी लिनुपर्ने निस्कर्ष निकालेको छ ।
शनिबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राप्रपा हिंसात्मक गतिविधिको सधैँ विपक्षमा रहेको बताउनुभयो । उहाँले हिंसात्मक घटनामा सरकारको संलग्नता र सरकार नै हिंसा भड्काउन उद्धत रहेको राप्रपाको निस्कर्ष रहेको बताउनुभयो । शान्ति पूर्ण ढंगले सभा भइरहेको मञ्चमा जुन ढंगले सुनियोजित रुपमा अश्रु ग्यास प्रहार भएको भन्दै आपत्ति जनाउनुभयो ।
पत्रकार सुरेश रजकलाई बचाउनसक्ने प्रशस्त सम्भावना हुँदा पनि सरकार उदासिन रहेको आरोप लगाउनुभयो । सरकारले घटनको निष्पक्ष छानविनका लागि निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गर्नुभयो । शान्तिपूर्ण प्रदर्शनमा सहभागी पार्टीका नेताहरु रविन्द्र मिश्र, धवल समशेर जबरा र अधिवक्ता स्वागत नेपाल लगायत निर्दोषलाई २४ घण्टाभित्र बिना शर्त रिहा गर्न माग गर्नुभयो । २४ घण्टाभित्र बिना शर्त रिहाइ नगरे राप्रपाले बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको बताउनुभयो ।
शुक्रबारको घटनालाई लिएर पूर्वराजा शाहलाई राजनीतिमा तान्ने काम भएको भन्दै त्यसलाई रोक्न आग्रह गर्नुभयो । आन्दोलनका क्रममा निधन भएका सुरेश रजक र सविन महर्जनलाई शहीद घोषणा गर्न र उचित क्षतिपूर्ति दिन माग गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्