१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


राजावादीको प्रदर्शनमा संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन


1.768k
Shares

काठमाडौं । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ ।

आइतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीहरुको प्रदर्शनबाट भएका घटनाहरुको सत्यतथ्य छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो ।

समितिको तर्फबाट समिति सभापति अम्मरबहादुर थापाले घटनामा संलग्नलाई कारवाही गर्न र यस प्रकारका घटनाहरु पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्नेगरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखि तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन दिनुभयो ।

सभापति थापाले भन्नुभयो, ‘२०८१ चैत्र १५ गते शुक्रवारको दिन ज्ञानेन्द्र शाहको नाममा भएको अराजक गतिविधिबाट दुई जना नेपाली नागरिकले ज्यान गुमाउनुपरेको, सुरक्षाकर्मीहरु घाइते भएका र सार्वजनिक तथा निजी घर, सवारी साधन तथा लगायतका सम्पतीमाथि आगजनी, तोडफोड, लुटपाटबाट भएको जनधनको क्षतिप्रति यो समिति गम्भीर बनेको छ ।’

‘सो दिनको अराजक गतिविधिबाट निजी सम्पती लगायतका सरकारी सम्पतीमा गम्भीर क्षति भएको हुँदा उक्त दिनको घटनाको सत्यतथ्य छानविन गरी संलग्न जो सुकैलाई पनि कानूनी दायरामा ल्याइ हदैसम्मको कारवाही गर्न र यस प्रकारका घटनाहरु पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्नेगरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखि तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन गर्दछ ।’ उहाँले भन्नुभयो ।

समितिले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घाइतेको उपचारका लागि आवश्यक प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।