१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


संसद बैठकमा सत्ता र विपक्षीहरुबीच हंगामा


1.846k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षहरुबीच चर्काचर्की भएर मुख छाडने अवस्था नियन्त्रण बाहिर गएपछि बैठकको प्रत्यक्ष प्रसारण रोक्नु परेको छ ।

निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलोगरी शुरु भएको आजको बैठकमा प्रतिपक्षी सांसदहरुले कुलमान घिसिङ बर्खास्ती प्रकरणमा प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग राख्दै अवरोध गरेपछि सत्ता गठबन्धनका सांसदहरूले राप्रपा र पूर्वराजा ज्ञानेन्द्रलाई गाली गर्न थालेका थिए ।

कांग्रेस सांसद रामहरि खतिवडा, एमाले सांसद ठाकुर गैरेलगायतले राजावादीहरुलाई जोसुकै भए पनि थुन्नुपर्ने भनेपछि माहोल तनावपूर्ण बनेको थियो । त्यसपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले “राजावादी यहाँ छ, हिम्मत भए थुनेर देखाऊ” भन्दै छाति ठोक्नुभएको थियो ।

त्यसैगरी राप्रपाका अर्का सांसद ज्ञानेन्द्र शाहीले पनि छाती पिट्दै जेल हालेर देखाउन चुनौती दिएका थिए । राप्रपाका सांसदहरुले भने आन्दोलन दबाउन सत्ताधारी दलहरु समेत संलग्न रहेको भन्दै तीनकुने घटना राज्यको डिजाइनमा भएको आरोप लगाएका थिए ।

होहल्ला र हंगामाका बीच सांसदहरुले एक अर्कालाई मुख समेत छाडेपछि सभामुख घिमिरेले प्रत्यक्ष प्रसारण रोक्न निर्देशन दिनुभएको थियो ।