१९ चैत्र २०८१, मंगलबार | Tue Apr 1 2025


आज ईद–उल–फित्र मनाइँदै, देशभर सार्वजनिक बिदा


442
Shares

काठमाडौं । मुस्लिम समुदायले आज ईद पर्व मनाउँदैछन् । इस्लाम धर्मावलम्बीको एक महिना लामो रमजान समापन भएको खुशीयालीमा ईद–उल–फित्र मनाउन लागिएको हो ।

हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यस पर्वमा प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाइन्छ । यस दिनमा इस्लाम धर्मावलम्बीहरुले पवित्र भइ मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ । यस्तै आज खुशीका साथ गरिब तथा दुखीलाई दान समेत गरिन्छ ।

यो महिना इबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ । मुस्लिमहरूले एक महिनाको रमजानको अवधिभर हरेक दिन बिहानदेखि बेलुकी सुर्य अस्ताउने बेलासम्म रोजा (उपवास) राख्ने गर्छन् । यस अवधिमा रोजा खोलेपछि परिवार तथा इष्टमित्रसँग खुशीयाली साटासाट गर्ने परम्परा रहेको छ । साथै नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलासँग आशीर्वाद लिइन्छ ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिनमा चन्द्रमा देखिएपछि ईद–उल–फित्र मनाउने गरिन्छ । सरकारले ईदका अवसरमा सार्वजनिक बिदा दिएको छ ।