
काठमाडौं । साहित्यकार, पत्रकार तथा कूटनीतिज्ञ कमलप्रसाद कोइरालाको निधन भएको छ । उहाँको ८७ वर्षको उमेरमा उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा आइतबार राति निधन भएको हो ।
पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका सुपुत्र कोइरालालाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । १९९५ साल वैशाखमा विराटनगरमा जन्मिनु भएका कोइरालाको नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको छ ।
कोइराला परिवारमा जन्मिएर वामपन्थी विचार राखेका कोइरालाले राजनीतिमा जेलनेल भोग्नु भएको थियो । छापा पत्रकारितामा लामो समय बिताउनु भएका पत्रकार कोइरालाले दृष्टि साप्ताहिकको प्रधान सम्पादकका रूपमा काम गर्नुभएको थियो ।
२०५१ सालको मध्यावधि निर्वाचनमा कोइराला मोरङ जिल्लाबाट निर्वाचित हुनुभएको थियो भने तीन वर्ष दक्षिण कोरियाका लागि नेपाली राजदूत हुनुभएको थियो । कोइरालाका एक छोरा र एक छोरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्