२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


पहुँचवाको हातमा लाग्दैन हतकडी


10.205k
Shares

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ

काठमाडौं । के कुनै पनि देशको कानून नागरिक अनुसार फरक हुन्छ ? सामान्यतः कानून दुई थरी हुँदैन भनिन्छ । तर नेपालमा भने पहुँचवाला र आमनागरिकका लागि कानूनको व्यवहार नै फरक-फरक हुने गरेको छ । सत्ताको पहुँच बाहिरका नागरिकलाई सामान्य कसुरमा पनि अपराधीको व्यवहार गरिन्छ भने पहुँचवालाहरुलाई सकेसम्म उन्मुक्ति र कानूनी दायरामा ल्याने प्रक्रियामा पनि ज्वाइँको व्यवहार गर्ने गरिन्छ ।

विभिन्न सहकारी ठगी प्रकरणको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं रास्वपा अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धानका क्रममा अदालत लग्ने क्रममा प्रहरीले उनलाई कहिल्यै हतकडी लगाएन । लामिछानेमाथि लागेका आरोपहरु यति संगीन छन् तर उनलाई सायद देशका पूर्व प्रतिष्ठित व्यक्तित्व भनेर होला हत्कडी लगाइएन । तर चैत्र १५ गते शुक्रबारको दिन राजधानीको तिनकुनेमा राजसंस्थाको समर्थनमा भएको प्रदर्शनको नेतृत्वकर्ताको रुपमा रहेका राप्रपाका महामन्त्री धवल शमशेर र नेता रबिन्द्र मिश्र लगाएत अन्य नेता कार्यकर्ताको हातका भने हतकडी लगाएर प्रदर्शन गरियो ।

पहुँचवालाहरुलाई फरक व्यवहार हुने दृष्टान्त अरु पनि प्रशस्त छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोप लागेका पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार डा. ईन्द्रजीत राईहरुलाई भने हत्कडी लगाइएन । किन ? किनकी उनीहरु सत्ता निकट थिए र पहुँचवाला थिए । प्रहरी नेतृत्वले भने यसलाई सुरक्षा अधिकारीको तजबिजी अधिकारका रुपमा अथ्र्याउने गरेको छ ।
प्रहरीले भाग्दैन भन्ने विश्वास भएका कारण हतकडी नलाएको हुन सक्ने पूर्वप्रहरी महानिरीक्षक ध्रुब बहादुर प्रधान बताउनुहुन्छ ।

राजसंस्था पुनस्थापनको विषय विशुद्ध राजनीतिक विषय हो न कि कुनै फौजदारी अपराध । तर राप्रपा नेताद्वयलगायतलाई राज्यले पकेटमारलाई जस्तो थुनुवाको ज्याकेट समेत भिराएको पनि देखियो । तर बलात्कारको मुद्धामा पक्राउ परेका कृष्णबहादुर महरादेखि नागरिकलाई नक्कली शरणार्थी बनाएको आरोपमा पक्राउ परेका खाँण, रायमाझीलगायत कसैलाई यस्तो ज्याकेट पनि लगाइएको थिएन ।

यत्ति मात्रै होइन, प्रहरी पूर्व डिआइजी रञ्जन कोइरालालाई पत्नी हत्या गरेको अभियोग प्रमाणित हुँदा पनि हत्कडी लगाइएन । अदालतले भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेका पूर्व गृहमन्त्री खुमबहादुर खड्का, पूर्वमन्त्री चिरञ्जीवी वाग्ले, जयप्रकाश गुप्ताहरु भीआईपी पाहुना बनिरहे । पहुँचवाला भ्रष्टाचारी र बलात्कारीहरु प्रहरीको फन्दामा पर्ने वित्तिकै अस्पतालको पाहुना समेत बन्ने गरेका छन् । तर राप्रपा नेताहरुले भने त्यस प्रकारको सुबिधा नलिने उद्घोष समेत गरिसकेका छन् । कुनै पनि काण्डमा प्रतिष्ठित ब्यक्तित्वहरुलाई पक्राउ गरिँदा कसैलाई काखा र कसैलाई पाखा लगाउने गरेको पाइन्छ ।

नेपालको राज्य नै विभेदकारी छ भन्ने पुष्टि गर्न यी मात्रै होइन अनगिन्ती उदाहरणहरु छन् । पछिल्लो समय बलात्कारको अभियोग लागेका सत्ताधारी दलका नेताहरु विरुद्ध किटानी उजुरी पर्दा समेत पक्राउ नगर्ने गरिएको छ । जबकी सामान्य ब्यक्तिहरुमाथि बेनामी उजुरी परे पनि राज्यले सताउने गर्दछ ।