
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाउनुभएको छ ।
मंगलवार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटका क्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो ।
पर्साको विलम्वलाई कसरी हेर्नुभएको छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले तीनकुनेको घटना झैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गरेका छौँ भनेर बसिरहेको टिप्पणी गर्नुभयो । सभापति लामिछानेले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाउनु भयो ।
उहाँले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद भएकाले संसदमा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताउनुभयो । संसदको विषय संसदबाट नै निवारण गरौँ भन्ने अभिप्रायका साथ आफूले सभामुख घिमिरेसँग भेट गरेको बताउनुभयो ।
सभापति लामिछानेले भन्नुभयो, ‘मैले सकेसम्म कानूनी प्रक्रियाहरु टुंगिउन्, मुद्दा कहाँ लगाउने हो लगाउन्, त्यो सबै सकियोस् भनेर कुरेर बसेको हो । अदालतलाई, प्रक्रियालाई सम्मान गर्नुपर्छ, कतिपय प्रश्न पनि आउलान् भनेर कुरेर बसेको थिएँ । तर सरकारले त्यसलाई हतियार बनाएर राखेर पर्सा झुण्ड्याइरहेको छ । मान्छे लगाएर हालिएको मुद्दा, हदम्याद छैन ।’
सभापति लामिछानेले आफू अदालती प्रक्रियाको सम्मान गर्दै सबै मुद्दा टुंगिउन् भन्ने उद्देश्यले केही समय राजनीतिक कार्यक्रमहरुमा नदेखिएको बताउनुभयो ।
पर्साको विषयमा सरकारले आफूमाथि हतियारको रुपमा प्रयोग गरिरहेको जिकिर गर्नुभयो । उहाँले तीनकुने घटना पनि सरकारको तर्फबाटै भएको टिप्पणी गर्नुभयो । उहाँले सबैकुरा देखिसकेपछि सरकार घटना छोप्न लागेझैँ पर्साको आफ्नो विषयमा छोप्ने प्रयासमा लागेको बताउनुभयो । – न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्