
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने औपचारिक भ्रमणका क्रममा थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।
मंगलबार दिउँसो प्रधानमन्त्री ओली ५ दिने आपचारिक भ्रमणका क्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै थाइल्याण्ड प्रस्थान गर्नुभएको हो ।
नेपाल–थाइल्याण्ड दौत्य सम्बन्ध गाँसिएको ६५ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीले थाइल्याण्डको औपचारिक भ्रमण गर्न लागेको यो पहिलोपटक हो । सन् १९५९ नोभेम्बर ३० मा नेपाल र थाइल्याण्डबीच कुटनीतिक सम्बन्ध गाँसिएको थियो ।
त्यसयताका ६५ वर्षमा थाइल्याण्डका प्रधानमन्त्रीले एकपटक मात्र नेपाल भ्रमण गर्नुभएको छ । यसबाहेक दुई देशबीच उच्चस्तरीय भ्रमण हुन सकेको थिएन । प्रधानमन्त्री ओली बिमस्टेकको छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गर्न थाइल्याण्ड जान लाग्नुभएको हो ।
बिमस्टेकको छैटौँ शिखर सम्मेलन थाइल्याण्डमा अप्रिल २ देखि ४ सम्म हुँदैछ । शिखर सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सहभागिता अप्रिल ४ मा मात्र हुनेछ । भ्रमणका बेला थाइल्याण्डका समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक हुनेछ ।
द्विपक्षीय बैठक सकिएपछि दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्याण्डबीच आठवटा समझदारी (एमओयु) तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । हस्ताक्षरका लागि तयार गरिएका आठवटा एमओयू तथा सम्झौतापत्रमध्ये दुईवटा सरकारी निकायबीच र ६ वटा गैरसरकारी निकायहरूबीच हस्ताक्षर हुनेछ । दुई देशका सरकारी निकायबीच यसपटक पर्यटन र संस्कृति सम्बन्धमा दुईवटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।
प्रतिक्रिया दिनुहोस्