२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


पाँच वटा अध्यादेश अनुमोदन नै हिउँदे अधिवेशनको मुख्य उपलब्धि


1.131k
Shares

काठमाडौं । संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ । गत माघ १८ गते शुरु भई चैत १९ गतेसम्म दुई महिनासम्म चलेको हिउँदे अधिवेशन पनि अघिल्ला अधिवेशनहरु जस्तै प्रभावहीन रह्यो । विधेयक अधिवेशन भनिने यस अधिवेशनबाट सरकारले ल्याएका अध्यादेशहरु पारित हुनु बाहेक अन्य महत्वपूर्ण विधेयकहरु भने अलपत्र अवस्थामै रहे ।

दुई महिना पुरै चलेको यस अधिवशेनका क्रममा प्रतिनिधिसभाका २७ वटा बैठकले १ सय १८ घण्टा २१ मिनेट व्यतित गरेको छ । यस अवधिमा प्रतिनिधि सभाले सरकारले अधिवेशनको मुखमै ल्याएका पाँच वटा अध्यादेशहरुलाई अनुमोदन गरेको छ भने अध्योदशहरु प्रतिस्थापनक विधेयक माफर्त ऐनमा परिणत भईसकेका छन् । अधिवेशनको पहिलो दिन नै सरकारले सुशासन सेवा प्रवाह, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि, निजिकरण पहिलो संशोधन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व र सहकारी सम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश गरेको थियो ।

राष्ट्रियसभामा सत्ता पक्षको बहुमत नपुग्दा यी अध्यादेशहरु अनुमोदन गराउन पनि सरकारलाई निकै मुश्किल परेको थियो । भूमि सम्बन्धि अध्योदश फिर्ता लिन सरकार तयार भएपछि मात्रै जसपा नेपालले पाँच वटा अध्यादेश पारित गर्न सघाएको थियो । यस अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैरसरकारी विधेयक दर्ता भएकोमा ५ वटा विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएका छन् ।

यस्तै ४ वटा विधेयक विषयगत समितिमा दफावार छलफलका लागि पठाईएको छ । ३ वटा विधेयक सभामा प्रस्तुत मात्र गरिएको छ । यसैगरि चालु अधिवेशनमा राष्ट्रियसभामा उत्पत्ति भएका ४ वटा विधेयक मध्ये २ वटा प्रतिनिधिसभामा आई छलफलका लागि समितिमा पठाईएको छ भने बाँकी २ राष्ट्रियसभामै छलफलको क्रममा रहेका छन । यस अधिवेशनमा प्रधानमन्त्री ओलीले २ पटक सदनमा सम्बोधन गरे भने विभिन्न निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् । अघिल्ला वर्षहरुमा भन्दा एक महिना ढिलो शुरु गरिएको अधिवेशन पनि कानून निर्माणको विषयमा खास प्रभावकारी देखिएन ।

संघिय निजामति विधेयक, विद्यालय शिक्षा विधेयक, नेपाल प्रहरी जस्ता विधेयकहरु चालु अधिवेशनबाट पनि पारित हुन सकेन । अधिवेशनको अन्त्यतिर कुलमान घिसिङ बर्खास्ती प्रकरणमा केही दिन दुवै सदन अवरुद्ध समेत भए । संसदको अधिकांश समय शून्य समय, विशेष समय, आकस्मिक समय र प्रश्नोत्तरमै ब्यतित भयो । समग्रमा २ महिनासम्म चलेको संसदको यो अधिवेशन पनि मूल जिम्मेवारी पुरा गर्न भने असफल रह्यो ।