
काठमाडौं । काठमाडौंको तीनकुनेमा गत शुक्रबार भएको राजावादीहरुको प्रदर्शनमा प्रहरीले ५८ राउण्ड गोली चलाएको खुलासा भएको छ ।
तीनकुनेमा आमसभाका लागि भेला भईरहेका राजसंस्था पक्षधरहरुको प्रदर्शन भड्किएपछि ५८ राउण्ड गोली र ७ सय ४६ राउण्ड अश्रुग्यास प्रहार गरिएको काठमाडौं प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ । यस्तै भीड नियन्त्रणमा पेस्तोलबाट २ राउण्ड गोली प्रहार भएकोे पनि बुझिएको छ । यस्तै १ सय ९२ राउण्ड ब्ल्यांक फायर गरिएको थियो ।
भीड नियन्त्रणका लागि २४ थान लाठी, ३३ थान शिल्ड, २ सय ३९ कार्टिजलगायत खर्च भएको जनाइएको छ । प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए भने ५२ जना प्रदर्शनकारी घाइते भएका थिए । घाइतेहरु मध्ये १७ जनाको उपचार भईरहेको छ भने पाँच जनालाई गोली लागेको पाइएको छ ।
मृतक र गोली लागेका घाइतेहरु अधिकांश रमिते र बटुवा भएको पाइएको छ । प्रदर्शनकारीको ढुंगा प्रहारबाट ५५ जना नेपाल प्रहरी २२ जना सशस्त्र प्रहरी घाइते भएको पनि प्रहरीले जनाएको छ । प्रदर्शनमा १ सय २६ जनालाई नियन्त्रणमा लिइएका मध्ये ८५ जना छुटिसकेका र ४१ जनामाथि अदालतबाट म्याद लिएर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।
प्रदर्शनमा प्रत्यक्ष संलग्न रहेको भन्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेर अदालतबाट म्याद लिई अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्