२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

कृषि नीतिलाई मूर्त र व्यवस्थित बनाउन सांसदहरुको सुझाव


195
Shares

काठमाडौं । कृषि नीतिलाई मूर्त र व्यवस्थित बनाउन सांसदहरुले सुझाएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिसम्बन्धी छलफलमा सांसदहरुले यस्तो सुझाव दिएका हुन् । कृषिमा वैज्ञानिक क्रान्ती गर्ने खालको नीति ल्याउनुपर्नेमा उनीहरुको जोड छ ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले कृषि नीतिले धानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको उपलब्धी सम्बोधन गर्नेगरी ल्याउनुपर्ने बताउनुभयो । उहाँले सरकारले कृषि आधुनिकीकरण परियोजनाको लागि बजेट विनियोजन गरेपनि परियोजनाका उपलब्धीहरुलाई नजरअन्दाज गर्ने गरेको बताउनुभयो । उहाँले कृषि आधुनिकीकरण परियोजनामा बजेट र जनशक्तिको आव हुन नदिन समिति सभापतिलाई निर्देशन दिन समेत माग गर्नुभयो । उहाँले कृषि आधुनिकीकरण परियोजनामा सुधार गर्नुपर्ने कुराहर धेरै रहेको उहाँको भनाइ छ । उहाँले अब बन्ने कृषि नीतिले किसानका विद्यमान समस्याहरुको समाधान गर्नेगरी आउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले कृषि नीतिको मस्यौदामा किसानका लक्ष्य र उद्देश्य नै नराखिएको बताउनुभयो । उहाँले नीतिमा किसानका कुराहरु नै समावेश भएनन् भने कसरि सफल हुन्छ रु भन्दै प्रश्न गर्नुभयो । उहाँले बन्न लागेको नीतिले नेपालमा कृषि खेति गर्ने व्यक्तिको उमेर समूह र उनीहरुको क्षमताको सम्बोधन गर्नुपर्नेमा त्यो कल्पना समेत नगरिएको बताउनुभयो । उहाँले नीतिकलाई आम किसानका हक र अधिकारहरु समावेश गरेर अझै समृद्ध बनाउनुपर्ने बताउनुभयो ।

कृषि नीतिलाई मूर्त र व्यवस्थित बनाउँदै किसानलाई वस्तु उत्पादनका आधारमा वर्गिकरण गर्ने र किसान परिचयपत्र वितरण गर्नेतर्फ अगाडि बढ्न सुझाव दिनुभयो ।

नेकपा (एमाले)की सांसद विजुला रायमाझिले कृषि नीतिभित्र अनिवार्य रुपमा भूनीति समावेश गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भूगोलको अध्ययन नगरी कृषि फस्टाउन नसक्ने भन्दै यसको बारेमा समितिले गहिरो अध्ययन गर्नुपर्ने बताउनुभयो । कृषि नीतिले खेतियोग्य जमिनलाई सम्बोधन गर्नुपर्नेमा उहाँको जोड छ ।

केन्द्रमा भएका कृषि अनुसन्धान केन्द्रहरुको अनुगमन गर्न समेत उहाँले माग गर्नुभयो । सरकारले कृषि अनुसन्धान केन्द्रमा राम्रो लगानी गरेको भएपनि किसानले केही पाउन नसकेको उहाँको तर्क छ । कृषि अनुसन्धान केन्द्रहरु प्रदेश र स्थानीय तहमा समेत स्थापना गरेर प्रभावकारी रुपले चलाउने कुराबारे कृषि नीतिमा सोच्नुपर्ने बताउनुभयो । बैठकमा बोल्ने अधिकांश सांसदहरुले माटो र भूगोल सुहाउँदो तथा किसानका समग्र समस्याहरु समाधान हुनेगरी नीति आउनुपर्ने बताउनुभयो ।