
काठमाडौं । सांसदहरुले आगामी वर्षको बजेटको विनियोजन प्रश्तावमाथि नै प्रश्न उठाएका छन् ।
उनीहरुले आगामी आर्थिक वर्षको बजेटमा बढी महत्वकांक्षी लक्ष्य राखिएको भन्दै त्यसलाई गलत भएको बताएका हुन् ।
शुक्रबार बसेको अर्थ समितिको बैठकमा आगामी वर्षको बजेटका सन्दर्भमा बोल्दै पूर्वअर्थमन्त्री एवं कांग्रेस सांसद डा. प्रकाशशरण महतले आगामी वर्षको बजेटको विनियोजन प्रश्ताव नै ठिक नभएको बताउनुभयो । आगामी आर्थिक वर्षको लागि राखिएको विनियोजन र पुँजीगत तर्फको लक्ष्यमा नै समस्या रहेको बताउनुभयो । उहाँले बहुवर्षिय आयोजनाहरुका कारण दायित्व बढिरहेको भन्दै त्यसमा समेत सोच्नुपर्ने बला अएको बताउनुभयो ।
एमाले सांसद पदम गिरीले देशका समस्यालाई सम्बोधन गर्नेगरी बजेटमा कार्यक्रमहरु ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँकाअनुसार ४ खर्ब बढी ऋणको सावाँ व्याज तिर्न खर्च गर्नुपर्ने अवस्था छ । यो बिडम्बनापूर्ण अवस्था भएको उहाँको भनाइ छ । विगतमा पुँजीगत बजेट छुट्टाइएका परियोजनाहरुको खर्चको स्थिति ६० प्रतिशत ननाघेको बताउनुभयो । अर्कातर्फ विदेशबाट ऋण लिएर बनाएका परियोजनाहरुको प्रतिफलको हिसावले हेर्दा अनुत्पादनशील क्षेत्रमा गएको भन्दै आगामी वर्षको बजेट बनाउदा ख्याल गरिनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुँजीगत बजेट खर्च बढाउने कार्यक्रमसहित बजेट ल्याइनुपर्ने बताउनुभयो । उहाँले आगामी बजेट कार्यान्वयनमुखी हुन जरुरी रहेको बताउनुभयो ।
अर्थ समिति सभापति सन्तोष चालिसेले सही किसिमले बजेट नबन्दा माननीयहरुको क्षेत्रमा मानहानी हुन पुगेको बताउनुभयो । उहाँले माननीयहरुलाई माननीयकै हैसियत बनाउनका लागि अर्थ मन्त्रालय गम्भीर हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ठूला नेता र प्रधानमन्त्रीका जिल्लामा मात्रै बजेट केन्द्रित भएको भन्दै समान ढंगले बजेट वितरण गर्न आग्रह गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने संख्या बढेको भन्दै त्यसलाई सम्बोधन गर्न बजेटमार्फत कार्यक्रमहरु ल्याइनुपर्ने बताउनुभयो ।
नेकपा एमाले सांसद जुलीकुमारी महतोले आवश्यकताका आधारमा बजेट ल्याइनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाहरु कति दिनसम्म लम्बाउँदै जाने हो रु भन्दै प्रश्न समेत गर्नुभयो । प्राथमिकता तय गरेर त्यस्ता आयोजनालाई स्रोत दिनुपर्ने र सकाउँदै लैजानुपर्ने बताउनुभयो ।
नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले संघीय सरकारबाट बजेट छुट्टाइएको आयोजनामा श्रेयको होडबाजी चल्ने गरेको बताउनु भयो । निर्वाचित जनप्रतिनिधिसँग जोडेर बजेट ल्याइनुपर्ने बताउनुभयो ।
अर्थसचिव घनश्याम उपाध्यायले आगामी बजेटको सन्दर्भमा अर्थ मन्त्रालयले प्रभावकारी रुपमै काम अघि बढाएको बताउनुभयो । उहाँले बजेट लोकप्रियताका हिसावले ल्याउने की आर्थिक अनुशासनमा जानेबारे समितिको निर्देशन मान्न आफूहरु तयार रहेको बताउनुभयो ।
राजश्वबाट मात्रै विकासका कामहरु अघि बढाउन अर्पाप्त हुने भएकाले वैदेशिक सहायता लिनुपरेको बताउँदै आगामी दिनमा त्यसको सही सदुपयोग गर्ने हिसावले नै अघि बढिरहेको बताउनुभयो । अर्थमन्त्रालय बजेट महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले आगामी बजेटमा अनिवार्य दायित्व, बहुवर्षिय आयोजनाहरुलाई स्रोत सुनिश्चित गरिने बताउनुभयो । उहाँकाअनुसार वैदेशिक सहायतामा संचालीत आयोजनाको खर्च क्षमता पनि हेरिनेछ ।
नेपालका अनुसार यी आयोजनालाई स्रोत सुनिश्चित गराएर मात्रै सरकारका नीति तथा कार्यक्रमहरुमा आउने कार्यक्रमलाई बजेट छुट्याइनेछ ।
उनकाअनुसार पूर्वतयारी बिनाका आयोजनालाई बजेटमा राखिनेछैन । अनुशासित तवरले बजेट ल्याउन मन्त्रालयगत छलफललाई अर्थमन्त्रालयले तिब्र पारेको छ ।
प्रतिक्रिया दिनुहोस्