
पाल्पा (भरत शर्मा) । पाल्पाको निस्दी गाउँपालिकामा उत्पादित अदुवा र गेडागुडी विदेशी बजारमा पुगेको छ । गाउँको उत्पादन विदेशमा बिक्री हुन थालेपछि अहिले निस्दीका कृषकहरु अदुवा तथा गेडागुडी उत्पादनमा सक्रिय भएर लागेका छन् । उनीहरुले अदुवा तथा दलहन गेडागुडी बिक्रीबाट ५० हजारदेखि २ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
निस्दी गाउँपालिकाको मुख्य आम्दानीको श्रोत कृषि र पशुपालन हो । कृषकले प्रति के.जी ८० रुपैयाँमा बिक्री गर्ने सेमी बोडी हाल १ सय ६५ रुपैयाँ सम्ममा बिक्री गर्दै आएका छन । पूर्ण रुपमा अर्गानिक तरिकाबाट उत्पादन भएको अदुवा र सेमी हेफर इन्टर नेशनल नेपाल, ग्रामीण आर्थिक विकास संस्थाको पहलमा गल्धा सामाजिक उधमी महिला कृषि सहकारीको समन्वयमा जर्मन निर्यात हुन लागेपछि कृषकहरुको आम्दानीमा वृद्धि भएको स्थानीय कृषक अममाया मश्राङ्खीले बताउनुभयो ।
महिलाको सक्रियताले निस्दीको गाउँ गाउँमा आर्थिक चलायमान भएको छ । महिला सहकारीले गतवर्ष २ करोड ३२ लाख, ५० रुपैयाँको खसी बोका, ३३ लाख ४५ हजार रुपैयाँको प्रशोधित अदुवा, १४ लाख २३ हजार ३ सय ३३ रुपैयाँको बिउ अदुवा र सिमी बोडी ५ लाख ४२ हजार ९ सय ८८ रुपैयाँको कारोवार गरेको छ ।
यस बर्षको माघसम्म सहकारीले ६ करोड २५ लाख ९ सय २८ रुपैयाँको कारोबार गरिसकेको छ । सहकारीका २९ जना शेयर सदस्यहरुले आशिंक रुपमा रोजगारी पाएका छन । घरको नियमित काम सकेर फुर्सदको समयमा गरेको कामले महिलाको आयआर्जन बढाएको सहकारीकी व्यवस्थापक दिलमाया सारुले बताउनुभयो ।
उत्पादित कृषि बस्तुको बजार ग्यारेन्टी भएपछि निस्दीको गाउँगाउँमा परम्परागत निर्वाहमुखी खेती, पशुपालन गर्दै आएका कृषकहरु व्यवसायिक बन्दै गएका छन् । स सानो रुपमा गरेको खेतीलाई विस्तार गरेका छन् । विदेश गएका युवाहरु स्वदेशमा फर्किएर गाउँको खेतीपातीमा जोडिएका छन् । ४ वर्ष लामो मिहेनत र निरन्तरको प्रयास पछि हेफर इन्टरनेसनल नेपालको सहयोगमा निस्दीको उत्पादन जर्मन पठाउन सफल भएको रेडा पाल्पाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले बताउनुभयो ।
निस्दी गाउँपालिको उत्पादन ५ वर्षसम्म जर्मन निर्यात गर्ने सम्झौता भएको छ । यो कार्यक्रमले गुणस्तरीय उत्पादन भएमा बजारको कुनै समस्या हुँदैन भन्ने प्रमाणित गरेको छ । मिहेनत र इमान्दारी भएमा नेपालको कृषि उत्पादनबाट सजिलै विदेशी मुद्रा आर्जन गर्न सकिने र स्थानीय स्तरमा रोजगारीको अवसर खुल्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्