२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


शिक्षा क्षेत्रमा आजदेखि अनिश्चितकालीन हड्ताल


598
Shares

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका शिक्षकहरुले आजदेखि शिक्षा क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल घोषणा गरेका छन् ।

नेपाल शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै चैत २५ गतेदेखि देशभरका सबै विद्यालयहरु बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आग्रह गरेको हो ।

यसैगरि हडताल अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि शिक्षकहरुलाई निर्देशन दिइएको छ । आन्दोलनप्रति ऐक्यवद्धता जनाउन विद्यार्थी, अभिभावक, लगायत सबै शैक्षिक सरोकार पक्षसँग पनि आग्रह गरिएको छ ।

राजधानी केन्द्रीत आन्दोलनका क्रममा शिक्षकहरुले आइतबार विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका थिए भने आज आन्दोलनको छैटौं दिन मौन जुलुस निकाल्ने तयारी गरेका छन् । जुलुस बिहान ११ बजे माइतीघर मण्डलाबाटै शुरु हुने बताइएको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।