२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


नेपाल विश्व शान्तिको पक्षमा छ : प्रधानमन्त्री ओली


143
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको सामरिक स्वार्थको सैन्य गठबन्धनमा सामेले नहुने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित हिमालयन संवादमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल विश्व शान्तिको पक्षमा रहेकाले कसैको लडाइँ झगडामा सामेल नहुने प्रष्ट नीति रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भूराजनीतिको चपेटामा परेर ठूलाले जे भन्यो त्यही मान्ने पक्षमा नेपाल नरहेको बताउनुभयो । राष्ट्रिय हित र अन्तर्राष्ट्रिय उत्तरदायित्व र जवाफदेखितालाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपाल दुई ठूला छिमेकी देशको बीचमा रहेकाले दुवै मित्रराष्ट्रसँग बराबरको सम्बन्ध कायम गर्नुपर्ने बताउनुभयो । कोल्टे पर्ने राजनीतिले समस्या निम्त्याउने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भूराजनीतिको आडमा राष्ट्रको हित र आवश्यकता प्रश्तुत गर्न नसक्ने कमजोरी गर्नु नहुने बताउनुभयो । छिमेकी राष्ट्रहरुसँग सही विषयमा खुला छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले छिमेकीहरुसँगको न्यायोचित सम्बन्ध आवश्यक भएको बताउनुभयो । देशको आवश्यकता पूरा गर्न बजार र व्यापारको अवसर, विकास निर्माणलगायतका सहयोग जुटाउन राष्ट्रिय हितलाई बहुआयामिक बनाउनुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमालेको वर्तमान सरकार राष्ट्रिय सहमती र एकताको बाटो भएको बताउनुभयो । देशमा समस्या पर्दा राजनीतिक स्थिरता दिन सबै दलहरु एकजुट हुने गरेको भन्दै उहाँले राष्ट्रिय हितमा अडिग रहेर संवद्र्धन र रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।