
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले तयारी प्रभावकारी भएकाले हङकङको टी ट्वान्टी श्रृंखलामा पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।
नेपालले अप्रिल ९ देखि १३ सम्म हङकङमा टी ट्वान्टी श्रृंखला खेल्दैछ । उक्त श्रृंखलामा नेपालसहित घरेलु टोली हङकङसहित कतार र कुवेतले प्रतिष्पर्धा गर्नेछन् । सोही श्रृंखलाका लागि सोमवार भएको बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान रोहितले राम्रो क्रिकेट खेल्ने बताएका हुन् ।
सिद्धार्थ क्रिकेट मैदानमा राम्रो तयारी गरेको र त्यहाँ जुन उद्देश्यका साथ तयारी गर्न गएको त्यो पूरा पनि उनको भनाइ । उनले पछिल्ला समय घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका केही खेलाडीले कमब्याक पनि गरेको उल्लेख गरे ।
तयारी राम्रो हुनु र टिम पनि सन्तुलित रहेकाले हङकङमा राम्रो क्रिकेट खेल्नेमा उनी विश्वस्त छन् । हाल नेपाली टोलीको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल छन् । कप्तान रोहितले टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लको कप्तानीमा पनि खेलिसकेकाले उनीसँग नयाँ भुमिकामा रहेर खेल्न धेरै उत्साहित रहेको पनि बताएका छन् । टी ट्वान्टी विश्वकपको एशियाली क्षेत्रको क्वालिफायर सेप्टेम्बरमा छ । त्यसका लागि चार देशीय यो श्रृंखला राम्रो तयारी बन्ने कप्तान रोहितको विश्वास छ । उनले टोलीको उद्देश्य नै आफ्नो उत्कृष्ट दिने र टिमलाई जित दिलाउनु हुने भएकाले सोहीअनुरूप हङकङमा खेल्ने बताएका छन् ।
उनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटपछि त्यति धेरै समय नभए पनि भर्खर प्रतियोगिता खेलेर आएकाले सहज भएको उल्लेख गरे । साथै पछिल्ला ५/६ दिनको क्याम्पमा प्रभावकारी तयारी गरेको विश्वास उनको छ । यो क्याम्पबाट आफ्नो टोलीले चाहेजति लक्ष्य प्राप्त गरेको उनले उल्लेख पनि गरेका छन् ।
कप्तान रोहितले तयारी र योजना हङकङमा गएर कार्यान्वयन गर्नु नै महत्वपूर्ण पक्ष रहेको बताएका छन् । अब विश्व लिग–२ पनि आफूहरूको लागि महत्वपूर्ण रहेको र हरेक फरम्याटमा एडजस्ट भएर खेल्ने कप्तान रोहितले बताएका छन् । समग्रमा सन् २०२३ र ०२४ को नेपाली क्रिकेटमा राम्रो नतिजा आएको र यो वर्ष पनि त्यसलाई निरन्तरता पाउने आशा व्यक्त गरे ।
नेपाली टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले यो टिमसँग भिजेर काम गर्न सहज भएको र त्यहीअनुरूप तयारी पनि प्रभावकारी भएको बताएका छन् । उनले टी ट्वान्टी क्वालिफायरका लागि अहिलेदेखि नै यसरी नै तयारी गरेर जाने हो भने लक्ष्य पूरा हुने आशा व्यक्त छन् । देशबाट खेलेर सोही टोलीको प्रशिक्षण गर्न पाउनु आफ्नो लागि गर्वको क्षण रहेको प्रशिक्षक ज्ञानेन्द्रको भनाइ छ । यो भुमिकाबाट आफू धेरै दबाबमा नरहेको उनी बताउँछन् । उनले यसलाई ठूलो जिम्मेवारीको रूपमा लिएर अगाडि बढ्ने उल्लेख गरे । सबै खेलाडी व्यावसायिक क्रिकेटमा राम्रो रहेकाले उनीहरूलाई सोहीअनुरूप मार्गनिर्देशन नै पर्याप्त हुने उनको बुझाइ छ । उनले नयाँ प्रशिक्षक स्टुआर्ट लले हालका लागि आफ्नो योजनाअनुरूप अगाडि बढ्न भनेको पनि उल्लेख गरेका छन् ।
सोमबार नै नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले नेपाली टोलीको बिदाइ गरेका छन् । अप्रिल ९ देखि १३ सम्म हङकङमा श्रृंखला हुने तय छ । यस टी ट््वान्टी श्रृंखलामा नेपालसहित घरेलु टोली हङकङसहित कतार र कुवेतले प्रतिष्पर्धा गर्नेछन् । नेपालले कतारसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्ने तय छ । लिगचरणमा शिर्ष दुई टोलीले फाइनल खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्