२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


मालवाहक सवारी चेकजाँचमा प्रहरीबाट सहयोग मिलेन : मन्त्री दाहाल


715
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुवाँ उत्सर्जन मापदण्ड विपरितका सवारी साधनहरु चलाउन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सोमबार सिंहदरबारमा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री दाहालले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्री दाहालले मापदण्डविपरितका गाडीहरुको कारण यात्रुवाहक सवारी साधनहरुमा समेत प्रभाव परेको र गृह मन्त्रालयसँग बसेर आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइने बताउनुभयो । उहाँले मालवाहक सवारी साधनहरुको तौलपुलको विषयमा समेत सरकारको ध्यानाकर्षण भएको बताउनुभयो ।

मन्त्री दाहालले मालवाहक गाडिहरुको नाप तौलबारे अध्ययन गर्न कार्यदल बनाएको र उक्त समस्या छिट्टै समाधान गरिने बताउनुभयो । उहाँले मालवाहक सवारी साधनको अनुगमन र आवश्यक कारबाही प्रक्रियामा प्रहरीले सहयोग नगरेको समेत बताउनुभयो । प्रहरीले चालकबाट पैसा खाएर ओभरलोडका गाडिहरु चलाउन दिएको आरोप लगाउनुभयो ।

मन्त्री दाहालले गाडिहरुको ओभरलोडका सम्बन्धमा गृह मन्त्रालयसँग आवश्यक छलफल गर्ने बताउनुभयो । निर्माणाधीन नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा यात्रुवाहक सार्वजनिक सवारी चलाउन सहज वातावरण निर्माण गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । स्तरोन्नति भइरहेको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार र निर्माणका लागि पहिलो चरणमा यही चैत २७ गते देखि ३१ गतेसम्म दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइने जनाएको थियो । यसप्रति यातायात व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडकहरुमा भइरहेको राजनीति अन्त्य गर्न सुझाव दिनुभयो । उहाँले यात्रुवाहक सार्वजनिक सवारी साधन चल्ने सडकहरुमा प्राविधिक रुपमा सहयोग गर्न मन्त्रालयसँग आग्रह गर्नुभयो । उहाँले यात्रुवाहक सवारी साधन सहज ढंगले हिँड्ने वातावरण मिलाउन मन्त्री दाहालको ध्यानाकर्षण गराउनुभयो । उहाँले छलफलपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै देशभरको सडकमा सार्वजनिक सवारी साधनका लागि उपयुक्त वातावरण निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै माग सम्बोधन नभएर सडक आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । उहाँले उहाँले दाउन्नेमा मालवाहक सवारीका कारण सार्वजनिक सवारी साधनहरुले दुःख पाइरहेको उल्लेख गर्दै केही दिनमा समाधान नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले वायु प्रदुषण बढ्नुमा सार्वजनिक सवारी साधनको मात्र नभई निजी र व्यक्तिगत गाडिहरुको योगदान पनि उत्तिकै रहेको बताउनुभयो । उहाँले सार्वजनिक यातायातभन्दा संस्थागत र नीजि सवारीसाधनको कारण बढी वायु प्रदुषण भइरहेको बताउनुभयो । उहाँले मोटरसाइकलहरुलाई समेत वायु प्रदुषणको मापदण्डभित्र राखेर चेकजाँच गर्न माग गर्नुभयो । उहाँले मोटरसाइकलबाट निस्कने धुँवा वातावरणका लागि झन खतरनाक हुने भएकोले तुरुन्त कार्यविधि बनाएर चेकजाँचको प्रक्रिया अगाडि बढाउनुपर्नेमा उहाँको जोड छ ।

निर्माणाधिन सडकहरुमा मालवाहक सवारी साधनमा रोक लगाएर भएपनि सार्वजनिक सवारी साधन चल्ने वातावरण मिलाउनुपर्नेमा व्यवसायीको जोड छ ।