
काठमाडौं । धरान उपमहानगर पालिकाका मेयर हर्कराज राईले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताउनुभएको छ ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले धरानको जनताका लागि मुख्य समस्या खानेपानी रहेको बताउनुभयो ।
प्रमुख राईले सडक निर्माण दोस्रो प्राथमिकतामा राख्दै धुलो बाटोमा हिँड्न सकिने तर पानीबिना जीवन नचल्ने बताउनुभयो । उहाँले धरानको खानेपानी समस्याका बारेमा प्रधानमन्त्रीसँग भएको कुराकानी सकारात्मक भएको बताउनुभयो । उहाँले खानेपानी व्यवस्थापनका लागि करिव पाँच अर्ब लाग्ने र बजेटमार्फत स्रोत व्यवस्था गर्ने प्रधानमन्त्रीको आश्वासन पाएको बताउनुभयो ।
प्रधानमन्त्रीको आश्वासनमा शंका गर्न नहुने तर बजेटले सम्बोधन नगरेसम्म विश्वास नलाग्ने प्रमुख राईको भनाइ छ । उहाँले धरानमा आफूले तीन हजार धारा थपिसकेको तर सहरीकरण बढ्दा माग पनि उतिकै बढेको बताउनुभयो ।
मेयर साङपाङलले जीवन रहेसम्म समस्याले नछोड्ने भन्दै मुख्य समस्या समाधान पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । काठमाडौंवासीले नियमित मेलम्चीको पानी खान नपाएको भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले श्रमदान गर्न आउन प¥यो कि भन्दै व्यङ्ग्य गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्