२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


रूपन्देहीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु


0
Shares

काठमाडौं । रूपन्देहीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा सोमबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

भरवलियाको शिवगढिया मोडमा लु. १ च २७६३ नम्बरको पिकअप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

घाइतेमध्ये तीनजनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको छ ।

तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । भ्यानमा २४ जना यात्रु सवार थिए । उनीहरु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको बताइएको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ बिठुवा निवासी २६ वर्षीय सवारी चालक अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

सामान बोक्न प्रयोग गरिने पिकअप भ्यानमा क्षमताभन्दा बढी यात्रु सवार हुँदा भारवहन क्षमता बढी भई दुर्घटना भएको उनले उल्लेख गरे । रासस