
काठमाडौं । इन्टरनेशनल स्काउट भोलेन्टियर ग्रुप र सांघाई हाइस्यान मिडिया ग्रुपले नेपालमा रोजगारी सिर्जनाका लागि संयुक्त रुपमा काम शुरु गर्ने भएका छन् ।
बुधवार काठमाडौंमा दुई संस्थाबीच नेपालमा रहेको बेरोजगारको समस्या अन्त्य गर्नेबारेमा मिलेर काम गर्ने सम्झौता भएको हो । रोजगारीको अवसर सिर्जना गर्न सबैभन्दा पहिला भाषिक ज्ञान महत्वपूर्ण भएकाले दुई संस्थाबीच नेपालमा चिनियाँ भाषा सिकाउने र चिनियाँ बजारमा रोजगारीको अवसर सिर्जना गर्न पहल गर्नेबारे सम्झौता भएको छ ।
२०२५ देखि २०२८ सम्म उक्त योजनाअनुसार काम गर्ने सहमति भएको आइएसभिजी इन्टरनेशन स्काउट भोलेन्टियर ग्रुप नेपालका अध्यक्ष अजित खड्काले बताउनुभयो । योजनाअनुसार नेपालमा भएका युवा युवतीहरुलाई क्षमता अभिवृद्धि गर्ने कामहरु अघि बढाइने उहाँले जानकारी दिनुभयो ।
परियोजना समाज कल्याण परिषद् र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले स्वीकृत गरिसकेपछि आवश्यक परेका स्थानहरुमा गएर काम शुरु गर्ने खड्काले बताउनुभयो ।
अध्यक्ष खड्काले भन्नुभयो, ‘नेपालमा रहेका बेरोजगारलाई रोजगारी कसरी दिने भन्दा विश्वमा भाषा नै सबैभन्दा ठूलो कुरा भएकाले भाषाको प्रवद्र्धन गर्ने, चाइनिज भाषा नेपालमा प्रवद्र्धन गरौँ भनेर यो कार्यक्रम आयोजना गरेका हौँ । अब हामी विभिन्न ठाउँमा जान्छौँ, हामीले विशेष गरी यो स्वीकृति समाजकल्याण परिषद् र समाज कल्याण मन्त्रालयमा परियोजनाहरु बुझाउँछौँ । परियोजनाहरु हामीले बुझाइसकेपछि स्वीकृत भएपछि हामी विभिन्न ठाउँमा निरीक्षणमा जान्छौँ । जुन जुन ठाउँमा आवश्यकता पर्दछ । त्यो त्यो ठाउँमा कार्य गर्दछौँ ।’
अध्यक्ष खड्काका अनुसार दुई संस्थाले नेपालको रोजगारीको समस्या चिर्नका लागि आगामी दिनहरुमा पनि विभिन्न किसिमका योजनाहरु अघि बढाउने गरी सहकार्य गरेर अघि बढ्ने सहमति गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्