५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


ऊर्जा क्षेत्रको विकासबाट नै मुलुक समृद्ध बन्छ : ऊर्जामन्त्री खड्का


429
Shares

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उर्जा क्षेत्रको विकासले मुलुक समृद्ध बन्ने बताउनुभएको छ ।

बुधबार सान्जेन खोला हाइड्रोपावर परियोजनाको शुभारम्भ गर्दै ऊर्जामन्त्री खड्काले १० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले कामहरु अघि बढाइरहेको बताउनुभयो । उहाँले दुई ठूला छिमेकी देशहरुसँग काँधमा काँध जोडेर अघि बढ्दै नेपालको उर्जा क्षेत्रको विकास गर्ने बताउनुभयो ।

ऊर्जामन्त्री खड्काले पछिल्लो समय जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी सहयोग बढिरहेको भन्दै खुशी प्रकट गर्नुभयो । विद्युत क्षेत्रमा लगानी गरेर मात्रै आर्थिक समृद्धि आउँछ भन्ने महशुस गरेर सबैले लगानी बढाइरहेको बताउनुभयो । उहाँले अहिले उर्जा क्षेत्रले छिमेकीहरुको बीचमा सम्बन्ध प्रगाढ बनाएको जिकिर गर्नुभयो । १० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहेपनि जलश्रोतको भरपुर प्रयोग गर्न नेपालले चाहेको बताउनुभयो ।

ऊर्जामन्त्री खड्काले नागरिकको घरमा लोडसेडिङ नहुने बताउनुभयो । विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यत्ति राम्रो नरहेको भएपनि प्रचुर मात्रामा सुधार गर्नसक्ने ठाउँहरु रहेको बताउनुभयो । एशियाकै उत्कृष्ट दक्ष इन्जिनियर विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेको भन्दै आर्थिक सुशासन कायम गरेर लोड सेडिङ हुन नदिनकन जलविद्युत क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।