४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


आजको मौसम : देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा


3.51k
Shares

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ ।

देशका विभिन्न भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना तथा हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यता काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

केही दिन यता विश्वकै सबैभन्दा बढी वायु प्रदूषित शहरको पहिलो नम्बरमा रहेको काठमाडौंबासीले राहत महसुस गरेका छन् ।