३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


आन्दोलनरत शिक्षक महासंघले सरकारसँग आज छलफल गर्ने


1.677k
Shares

काठमाडौं । सरकारको वार्ता प्रस्ताव अस्विकार गर्दै आएको नेपाल शिक्षक महासंघ विद्यालय शिक्षा विधेयकको विषयमा छलफल गर्न तयार भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्लेले विधेयकमा छलफल गर्नका लागि आउन भन्दै महासंघलाई बुधबार पत्र पठाउनुभएको थियो । त्यसपछि महासंघ औपचारिक वार्ता नभएपनि विधेयकबारे छलफलका लागि तयार भएको हो ।

महासंघ सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले वार्ताका लागि भनेर वार्ता समिति नबनेको तर शिक्षा सचिवले पठाएको पत्र अनुसार विधेयकका विषयमा छलफल गर्न तयार भएको बताउनुभयो ।

शिक्षा ऐन जारी गर्नुपर्ने आफुहरूको मागका विषयमा शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको कुनै अर्थ नहुने उहाँको भनाइ छ । तर शिक्षा सचिवले विधेयकका विषयमा छलफल गर्न आउनु भनेपछि आफ्नो धारणा राख्न जान लागेको उहाँको भनाइ छ ।

विद्यालय शिक्षा ऐन जारीको माग गर्दै शिक्षकहरुले काठमाडौंमा जुलुस, धर्नासहित आन्दोलन गरिरहेका छन् । उनीहरुले बिहीबार पनि माइतीघर-बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने महासंघले जनाएको छ ।