
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रदेश र स्थानीय तहलाई अधिकार दिन अब ढिलो गर्न नहुने बताउनुभएको छ ।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनमन्त्री चौरसियाले प्रदेश र स्थानीय तह थप सशक्त बनाउनका लागि अधिकार दिने कुरामा कन्जुस्याँई गर्न नहुने उल्लेख गर्नुभयो । उहाँले संविधानको धारा ५७ ले राज्य शक्तिको बाँडफाँड सम्बन्धमा संघलाई ३५ वटा एकल अधिकार, प्रदेश र स्थानीय निकायलाई २१ र २२ वटा अधिकार दिएको बताउनुभयो ।
कानूनमन्त्री चौरसियाले उक्त अधिकारअनुसार प्रदेश, स्थानीय तह र संघको अन्तरसम्बन्धको सवालमा कानून मन्त्रालयले थप कानून बनाउने काम र संघका अन्य मन्त्रालयहरुले पनि त्यस सम्बन्धी कानून बनाउने काम र कानून मन्त्रालयको सरसल्लाहले अझ राम्रो सशक्त कानून बनाउने काममा अघि बढिरहेको बताउनुभयो । संविधानले अभिव्यक्ति स्वतन्त्रताको हक दिएको भएपनि पछिल्लो समय मिथ्या र व्यक्तिगत चरित्र हत्या गर्ने जस्ता अभिव्यक्तिहरु दिने गरिएको बताउनुभयो । यही सब गर्नको लागि नेपाली समाज दुनियाँको उत्कृष्ट समाज भनेर चिनिएको हो रु भन्ने उहाँले प्रश्न गर्नुभयो ।
मन्त्री चौरसियाले अन्य मुलुकहरुमा झैँ नेपालमा पनि अग्रिम जमानतको व्यवस्था गर्ने कानून आगामी संसद अधिवेशनमा पेश हुने दाबी गर्नुभयो । अब कुनैपनि व्यक्तिलाइ प्रहरी प्रशासनले कुनैपनि बेला समातेको छ र केही दिनपछि उ निर्दोष भएको पाइए अग्रिम जमानत उपलब्ध गराउने बताउनुभयो । उहाँले प्रदेश, संघ र स्थानीय निकायको अन्तरसम्बन्ध स्थापित हुने र एक अर्कालाई आवश्यक भएको कानूनहरु बनाउने अधिकार तीन तहकै लागि भएको बताउनुभयो ।
मन्त्री चौरसियाले सरकारले केही गरेन भन्ने भाष्य तिब्र गतिमा संप्रेषण गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्