१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


सभामुख घिमिरे स्वदेश फिर्ता


1.066k
Shares

काठमाडौं । अन्तरव्यवस्थापिका संघको १५० औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी भइ सभामुख देवराज घिमिरे स्वदेश फिर्ता हुनुभएको छ ।

उज्वेकिस्तानको तास्केन्टमा सम्पन्न अन्तरव्यवस्थापिका संघको १५० औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागि सभामुख घिमिरेसहतिको नेपाली प्रतिनिधि मण्डल बिहीबार अपरान्ह नेपाल आइपुगेको हो ।

नेपाल अवतरण गर्दै सभामुख घिमिरेले उज्वेकिस्तान भ्रमण फलदायी दाबी गर्नुभयो । उहाँले अन्तरव्यवस्थापिका संघको सभामा सामाजिक विकास र न्यायमा संसदको पहलका विषयमा गम्भिर रुपमा छलफल भएको बताउनुभयो । उहाँले समसामयिक विश्व राजनीति, यसले पारिरहेको प्रभाव र सामाजिक असमानताका विषयमा विचार विमर्श भएको बताउनुभयो ।

सभालाई सम्बोधन गर्दै आफूले नेपालले भोगिरहेका समस्या र समावेशिताको अभ्यासबारे विश्व जगतलाई जानकारी गराएको समेत बताउनुभयो । उहाँले अन्तरव्यवस्थापिका संघको वार्षिक सभाले मध्यपूर्व भइरहेको युद्धलाई शान्तीपूर्ण ढंगबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको समेत उल्लेख गर्नुभयो ।

सभामुख घिमिरे एसिया प्रशान्तको क्षेत्रीय दिगो विकास समितिमा नेपालको तर्फबाट राष्ट्रिय सभा सदस्य अञ्जान शाक्य र स्वास्थ्यसँग सम्बन्धित समितिमा प्रतिनिधि सभा सदस्य सोविता गौतम निर्वाचित हुनुभएको जानकारी दिनुभयो । भ्रमणको क्रममा जलवायु परिवर्तनको कारण पारिरहेको असरहरुको बारेमा समेत अन्य राष्ट्रहरुलाई जानकारी र सचेत गराइएको उहाँले बताउनुभयो ।