
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जसले गर्दा देशभर आंशिकदेखि साधारणतया बदली भएको छ ।
कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । विशेषगरी पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
यस्तै सातवटै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आज रातिको मौसमको अवस्था पनि यही क्रममा चल्नेछ ।
सातै वटै प्रदेशमा हल्कादेखि मध्यम वर्षा र देशको उच्च पहाडी तथा हिमाली भूभागका हिमपातको सम्भावना भएकाले स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्