५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


आर्थिक क्षेत्र सुधार सुझाव आयोगका सुझावलाई सरकारले कार्यान्वयन गर्छ : अर्थमन्त्री पौडेल


286
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरुलाई सरकारले चरणवद्ध रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रवार मन्त्रालयमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आयोगले सुझाएका विषयहरुलाई चरणवद्ध रुपमा कार्यान्वयन गर्ने हिसाबले योजनाहरु बनाउने प्रतिवद्धता जनाउनुभएको हो ।

अर्थमन्त्री पौडेलले आयोगद्वारा प्रस्तुत गरिएको अन्तरिम प्रतिवेदन पनि क्रमशः कार्यान्वयन गरिरहेको बताउनुभयो । उहाँले आयोगले दिएको प्रतिवेदनलाई गहन रुपले अध्ययन गरेर प्रतिवेदनमा सुझाइएका विषयहरुलाई कार्यान्वयनमा लैजाने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले विगतमा आयोग बनाउने, आयोगको प्रतिवेदन दराज सजाउनका निम्ति प्रयोग हुने गरेको अनुभव रहेको भन्दै वर्तमान सरकारले दराज सजाउनका लागि आयोग नबनाएको बताउनुभयो । उहाँले त्यसको महशुस छिटै देखिने पनि उल्लेख गर्नुभयो । आयोगको प्रतिवेदन राष्ट्रलाई आर्थिक क्षेत्रका समस्याहरुबाट माथि निस्किन सहयोग हुने बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘अन्तरिम प्रतिवेदनमा पनि केही महत्वपूर्ण विषयहरु यहाँहरुले संगठित गर्नुभएको थियो । ती चिजहरु क्रमशः कार्यान्वयनमा लगिरहेका छाँै । यो समग्र प्रतिवेदनलाई हामी गहिरो गरी अध्ययन गर्नेछौँ । प्रतिवेदनमा सुझाइएका विषयहरुलाई कार्यान्वयनमा लैजाने हिसाबले हामी प्लानिङ गर्नेछौँ । ।’

उपप्रधानमन्त्री पौडेलले आयोगको प्रतिवेदनमा अर्थतन्त्रका समस्या चिन्न र चिर्नका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।