
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बिआराआई परियोजना प्रक्रिया घुमाउरो ढंगले रोक्ने प्रक्रियाको शुरुवात भएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाल-चीन इकोनोमिक एण्ड बिजनेस समिट-२०२५’ लाई सम्बोधन गर्दै महासचिव गुरुङले यस्तो आशंका व्यक्त गर्नुभएको हो । उहाँले राष्ट्रिय निकुञ्जभित्र पर्ने राष्ट्रिय आयोजनाअन्तर्गतका सडक सञ्जालका पूर्वाधार निर्माणमा अदालतले गरेको रोक्काप्रति सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो ।
नेपालको उत्तरी क्षेत्रमा जोड्ने सडक सञ्जालमा बिआरआई जोडिएको भन्दै महासचिव गुरुङले पुनरावलोकनमा जानै नमिल्ने गरी पूर्वाधार निर्माणमा रोक्का गर्ने संवैधानिक इजलासको फैसलाबारे नेपाल र चीनको दुई पक्षीय सम्बन्धका बारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभयो । दुई देशबीच भएका विकास निर्माणका कतिपय सम्झौताहरु हाम्रै कारण कार्यान्वयन नभएको उहाँको भनाइ छ ।
महासचिव गुरुङले दुई देशबीचको सहायतालाई उच्च प्राथमिकता दिएर तिब्रताका साथ कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले विश्व राजनीतिक परिस्थिति तथा क्षेत्रिय भूराजनीतिक अवस्थाका कारण पनि नेपाल र चीन बीचको सम्बन्धलाई थप परिभाषित र विकसित गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्