
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विश्वको स्थायित्व र राजनीतिक स्थिरताका लागि चीनको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाल-चीन इकोनोमिक एण्ड बिजनेस समिट-२०२५’ लाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो ।
उपाध्यक्ष पाण्डेले विश्वमा देखिएको राजनीतिक घटनाक्रमले राजनीतिक अर्डर नै फेरबदल हुनसक्ने अवस्था सिर्जना भएकाले चीनले सबैभन्दा बढी नजिकबाट नियालिरहेको बताउनुभयो । उहाँले नेपालको कमजोर अर्थप्रणालीलाई बलियो बनाउन चीनसँग पर्यटन आदानप्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
वार्षिक ५० लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने वातावरण निर्माण गर्नसके छोटो समयमा नेपालको अर्थतन्त्र बलियो भइ जिडिपीमा ठूलो परिवर्तन हुने उपाध्यक्ष पाण्डेको भनाइ छ । उहाँले नेपालमा भएका विभिन्न उत्पादनमार्फत लाभ लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले उत्पादनमुखी भएर आफ्नो अर्थतन्त्र बलियो बनाउने क्षमता नभइ दाताहरुको सहयोगले मात्रै केही गर्न नसकिने बताउनुभयो । नयाँ परिवेशबाट गुज्रिरहेको विश्वपरिवेशबाट नेपालमा पर्नसक्ने आर्थिक तथा राजनीतिक प्रभावबारे गम्भीरतापूर्वक सोच्नुपर्ने उहाँको भनाइ छ ।
उपाध्यक्ष पाण्डेले नेपालको आर्थिकलगायत विभिन्न क्षेत्रको विकासमा चीनको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले नेपाल सँधै एक चीन नीतिमा अडिग रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्