
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेता/कार्यकर्ताहरुले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले १७ हजार मानिसहरु युद्धको नियमानुसार मारिएको बताउनुभयो । उहाँले त्यसबेला राज्य पक्षले कति र विद्रोही पक्ष (तत्कालिन माओवादी)ले कति हत्या ग¥यो भन्नेकुरा अध्ययन गर्न सकिने बताउनुभयो ।
अध्यक्ष दाहालले बिना अध्ययन आफूमाथि आरोप लगाइएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले १७ हजार मानिस प्र्रचण्डले मारेको भन्ने आरोपको खण्डन गर्दै आफूले अहिलेसम्म एक जनालाई पनि नपिटेको बताउनुभयो । उहाँले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको बताउनुभयो ।
अध्यक्ष दाहालले सबै नेताहरु उस्तै हुन् भन्ने भाष्य बनाइएको भन्दै आपत्ति जनाउनुभयो । लोकतन्त्रलाई नेतातन्त्र भनेकोप्रति पनि उहाँको असन्तुष्टि छ । उहाँले यसको फाइदा निरंकुश र तानाशाहीलाई भइरहेको बताउनुभयो ।
अध्यक्ष दाहालले यौनजन्य हिंसामा परेका हजारौँ पीडित महिलाहरुलाई अगाडि ल्याउन कोही न कोहीले जोखिम उठाउनुपर्ने बताउनुभयो । द्वन्द्वकालमा यौनजन्य हिंसामा राज्य पक्ष र विद्रोही पक्ष कति जिम्मेवार छ भन्नेकुरा भन्न डराउन नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्