
काठमाडौं । नेकपा (एमाले)ले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ ।
सोमबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव ज्ञवालीले बताउनुभयो । उहाँकाअनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरुमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) रहनुभएको छ ।
त्यस्तै पार्टीले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने गर्ने निर्णय गरेको छ । उहाँले निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन भएकोले त्यो दिनलाई सेलिब्रेसनका रुपमा भव्य कार्यक्रम आयोजना गर्ने ज्ञवालीले जानकारी दिनुभयो ।
उपमहासचिव ज्ञवालीले बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिहरुबारे समेत समिक्षा भएको बताउनुभयो । शाहद्वारा आईतवार सार्वजनिक भिडियो सन्देशप्रति आपत्ति जनाउँदै उहाँले शाहमा अझै पनि प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको निष्कर्ष निकालेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्