१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025

‘सरकारप्रति गगनको आक्रोश र गगनप्रति देउवाको नजरअन्दाज’


4.433k
Shares

काठमाडौं । सरकार बनेको ९ महिना पुग्न लाग्दा पनि सरकारको कार्यसम्पादनप्रति साझेदार दल नै असन्तुष्ट देखिएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीदेखि अन्य नेताहरु निरन्तर सरकारको बिरोधमा उत्रिँदा सभापति देउवा भने मौन हुनुहुन्छ । महामन्त्री गगनकुमार थापा सरकारप्रति आक्रोशित बनेपनि उहाँको आक्रोश अर्थपूर्ण बन्न सकेको छैन । सरकार सञ्चालनका लागि बनाइएको संयन्त्रकै सदस्य थापाको आक्रोशलाई सभापति देउवाले नजरअन्दाज गरिरहनुभएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्यमा सरकार बनेको ९ महिना पुग्न लागेको छ । संसदका दुई ठूला दलले संविधान संशोधन लगायतका मुख्य ७ वटा बुँदा सहमति जनाएर सरकार निर्माण गरेपनि सरकारको कामप्रति नेपाली कांग्रेस खुशी छैन । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको नेतृत्वको सरकारका मन्त्रीहरुको कार्यसम्पादनप्रति महामन्त्री थापाले सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आउनुभएको छ ।

मंगलबार काठमाडौं आयोजित एक कार्यक्रममा पनि उहाँले सरकारको आलोचना गर्न छोड्नुभएन । उहाँले सरकारले नागरिकका अपेक्षाहरु पूरा गर्न गति लिन नसकेको आरोप लगाउनुभयो । दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तिब्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार काम हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो ।

महामन्त्री थापा यतिमा मात्रै रोकिनुभएन । उहाँले विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको समेत आरोप लगाउनुभयो । निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै विचौलियाहरुको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको जिकिर गर्नुभयो । उहाँले विचौलियाका कारण अहिलेको अर्थतन्त्रमा समस्या आएको आरोप समेत लगाउनुभयो ।

महामन्त्री थापाले केही दिनअघि चैत २८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले टेर्ने नगरेको आशय व्यक्त गर्नुभएको थियो । सरकारले राम्रो काम गरोस् भनेर आफूहरुले सहयोग गरिरहेको बताउँदै उहाँले “बिँड तातेर केही नहुँदो रहेछ ताप्केपनि तात्नुपर्ने रहेछ” भन्दै आलोचना समेत गर्नुभएको थियो ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने कुरा होस् वा प्रधानमन्त्रीको सार्वजनिक कार्यक्रमको उद्घाटन मोह होस्, त्योप्रति कांग्रेस महामन्त्री थापालाई पटक्कै रुचेको छैन । राजधानीमा शिक्षकहरुले विभिन्न माग राख्दै जारी राखेको आन्दोलनलाई रोक्न र उनीहरुका माग सम्बोधन गर्न सरकारले कुनै नदेखाउँदा उहाँ झनै असन्तुष्ट बन्नुभएको छ ।

थापा नेपाली राजनीतिमा आशा गरिएका व्यक्ति हुनुहुन्छ । उहाँमा काम गर्ने हुटहुटी छ । तर पार्टीमा सभापति शेरबहादुर देउवा हाबी हुँदा थापाले गर्न चाहेर पनि काम गर्ने अवसर मिलेको छैन । आफ्नो काम गर्ने हुटहुटी र सरकारको सुस्त कार्यसम्पादनले वाक्क हुनुभएका थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताउँदै आउनुभएको छ ।

केही महिनाअघि भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरु भन्दा युवा पुस्ताहरुबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताउनुभएको थियो । उहाँले आज नै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने भन्दै आफू भित्रको हुटहुटीलाई प्रष्ट पार्नुभएको थियो । अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण पार्टीको संसदीय दलको नेताका लागि पहल गरेको बताउँदै अबको दशक खेर फाल्न नहुने उहाँले जिकिर गर्नुभएको थियो ।

सरकारमै रहेर पनि कामप्रति असन्तुष्टी जनाउँदै आउनुभएका थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानविन गर्नुपर्ने समेत बताउँदै आउनुभएको छ । आम नागरिकहरुले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेको बेलामा जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरुको अख्तियार वा सर्वशक्तिशाली आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उहाँको धारणा छ । २०८४ सम्ममा नेपाली समाज भ्रष्टाचार मुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले अनियमिततामा दोषी ठहर भएको खण्डमा शक्तिशाली भनेर छोड्न नहुने बताउनुहुन्छ । नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन भन्ने सन्देश दिनुपर्ने थापाले तर्क राख्दै आउनुभएको छ ।

त्यसो त, थापालाई सरकारले राम्रो काम गरोस् भन्ने चाहना छ । उहाँले कतिपय सरकारका कामको चौतर्फी विरोध हुँदा समेत खुलेर सरकारको प्रतिरक्षामा लाग्नुहुन्छ ।

पार्टी सभापति देउवा नै सरकारको कामबाट खुशी देखिँदा थापाको असन्तुष्टी र आक्रोश केबल भाषणमा मात्रै सिमित बन्ने गरेको छ । सभापति देउवाले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको र त्यही बेलादेखिको साथी भएको भन्दै सरकारलाई दरिलो साथ दिनुभएको छ । महामन्त्री थापालगायतका पार्टीकै नेताहरुको असन्तुष्टीका बीच सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको भन्दै सरकारलाई ढाडस दिँदै आउनुभएको छ ।

सरकारका कामहरु पनि सभापति देउवा सन्तुष्ट रहँदा महामन्त्री थापा र अन्य नेताहरुको आलोचनाले प्रधानमन्त्री ओली र उहाँको नेतृत्वका सरकारका मन्त्रीहरुलाई केही फरक पारेको छैन । मुलुकमा बढ्दो बेरोजगारी र युवाहरु विदेश पलायन हुनबाट रोक्न, कोरोनापछि अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न र विकासको गतिलाई तिब्रता दिन सरकारले जाँगर नचलाएपछि महामन्त्री थापा आक्रोश बन्नुभएको हो ।