५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


२०८४ सालसम्म सरकारमा जाँदैनौं : अध्यक्ष दाहाल


1.04k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सालसम्म सरकारमा नजाने पार्टीको निर्णयमा थप दृढता भएको बताउनुभएको छ ।

हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले फेरि सरकारमा गएर त्रुटी गर्ने पक्षमा आफू नरहेको बताउनुभयो । जनतामा फेरि माओवादी केन्द्रप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले भ्रष्टाचारी र भूमाफियाहरुविरुद्धको अभियान चलाएकै कारण आफू नेतृत्वको सरकार ढलेको जिकिर गर्नुभयो । उहाँले भ्रष्टाचार विरुद्धको अभियान छोडेको र केही भ्रष्टाचारीहरुको संरक्षण गरेको भए कांग्रेस र एमालेको समर्थन पाइराख्ने दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले (माओवादी केन्द्र)ले व्यवस्थाको लागि लडेका वर्ग र समुदायमा जान ढिला भइसकेको महशुस भएको समेत बताउनुभयो । उहाँले अभियानका क्रमा आफूहरुले विगतमा बाटो बिराएको र अहिले ठिक बाटोमा हिँडिरहेको आत्मविश्वास रहेको बताउनुभयो ।