
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री पाण्डेले पुरुषहरु वैदेशिक रोजगारका लागि विदेश पलायन भएकाले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताको सम्भावना र चुनौति दुवै भएको बताउनुभयो । उहाँले महिला उद्यमशीलताका लागि पर्यटन क्षेत्र महत्वपूर्ण हुने बताउनुभयो ।
पर्यटनमन्त्री पाण्डे महिलाले धैर्यतापूर्वक सोचेर करुणामैत्री भावले काम गर्ने भएकाले पर्यटन क्षेत्रमा महिलाको भुमिका उपयुक्त हुने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रमा महिला उद्यमशीलताका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग छलफल गरेर बजेटमा व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । पर्यटनमा महिला उद्यमशीलता अर्थतन्त्रको पनि आधार बन्नसक्ने उहाँको भनाइ छ ।
मन्त्री पाण्डेले पर्यटन व्यवसायमा डिजिटल युगको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रबीच विश्वासको संकट उत्पन्न भएको बताउनुभयो । उहाँले विश्वासको कमी हुँदा समस्या उत्पन्न हुने भएकाले सरकार र निजी क्षेत्रले एक आपसमा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
पर्यटनमन्त्री पाण्डेले पर्वतारोहणको क्षेत्रमा काम गर्नेहरुका लागि सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रक्रियामा सरकार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्