
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईको लागि जीवन समर्पण गरेको भएपनि आफूहरुले अवसर नपाएको बताउनुभएको छ ।
नेकपाको ७६ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताउनुभएको हो । आफ्नो परिवारका सदस्यहरु गुमाउँदै आन्दोलनमा लड्दै साथ दिएको भएपनि आफूहरुले अवसर नपाएको गुनासो छ ।
महासचिव चन्दले राजतन्त्रमा समेत एउटै राजाले ४० वर्ष शासन नगरेको उल्लेख गर्दै अब कति वर्ष अध्यक्ष हुने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सबै कम्युनिष्ट एकजुट भएर जनतालाई साथ दिन अह्वान गर्ने बेला आएको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले प्रचण्ड र बाबुराम कमरेडलाई जिन्दगी नै दिएको हो । हामीले उहाँको आदेश मानेकै हो । आफ्नो परिवार गुमाउँदै लड्दै यहाँसम्म आइपुगेका हौं । उहाँहरुले हामीलाई हेर्नु हुदैन र ? एकचोटि गर हामी साथ दिन्छौं भन्नुहुँदैन र उहाँहरुले रु एकचोटि हेरे हुन्छ नि त । सधैं आफैं हुनुपर्छ र ? त्यो के अर्को राजतन्त्र भएन र ? दलीय व्यवस्थाको नाममा कति पटक अध्यक्ष हुने ? कति वर्ष महासचिव हुने मान्छे ? त्यसकारण अब समय आएको छ । यसमा हामी सबै एकजुट भएर नेपाली जनतालाई अपिल गर्नुपर्छ । सबैलाई हेर्नुभयो एकचोटि हामीलाई पनि हेर्नुस् भन्ने अधिकार हामीलाई छैन र ?’
नेकपालाई नेपाली जनताको माया र श्रम गर्ने नेता कार्यकर्ताबाट चल्ने पार्टी बनाउनुपर्नेमा चन्दको जोड छ ।
प्रतिक्रिया दिनुहोस्