१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘गुरु’हरुका माग वार्ताका माध्यमबाटै सम्बोधन हुन्छन् : अर्थमन्त्री पौडेल


1.066k
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षकहरुको माग वार्ताका माध्यमबाट नै सम्बोधन हुने बताउनुभएको छ ।

अर्थ समितिको बुधवारको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले विश्वमा ठूला-ठूला युद्धहरु र नेपालकै परिवेशमा १० वर्षे शसस्त्र द्वन्द्व वार्ताकै माध्यमबाट टुंगिएको भन्दै गुरुहरुका माग पनि वार्ताबाटै टुंगिने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग ज्ञापन पत्रका माध्यमबाट मागहरु राख्दा समाधान हुने ठाउँमा आन्दोलनमा आएपनि अब वार्ताका माध्यमबाट समस्या समाधान हुने जिकिर गर्नुभयो ।

अर्थमन्त्री पौडेलले सरकार र शिक्षकहरुबीच मन्त्रिपरिषद्बाट सरकारले मागहरु सम्बोधन गर्ने र शिक्षकहरुले आन्दोलन फिर्ता लिएर काममा जाने अनौपचारिक सहमति भएपनि शिक्षकहरुले त्यसअनुसार अघि नबढेको बताउनुभयो । उहाँले सरकारले आगामी अधिवेशनबाट यथाशिघ्र विधेयक पारित गर्ने पक्षमा रहेको पनि बताउनुभयो । उहाँले सरकार अहिले पनि समस्याको शिघ्र र सकारात्मक समाधानको पक्षमा रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री पौडेलले वर्तमान सरकारले शिक्षकसहित कुनैपनि वर्ग र समुदायका समस्या सुन्ने र सामथ्र्यताको माध्यमबाट समाधान गर्ने बताउनुभयो ।