
काठमाडौं । निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु वैशाख ११ गतेदेखि देशभरका स्वास्थ्य संस्था ठप्प पारेर आन्दोलनमा उत्रिने भएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल चिकित्सक संघले यस्तो चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा डा. तेजशु मल्लले वैशाख ११ गते देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा रहेका निजी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरुले माईतीघर मण्डलमा जम्मा भइ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेर्ने बताउनुभयो ।
डा. मल्लले २८ दिनदेखि जारी चिकित्सकको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र उदासिन भएको आरोप लगाउनुभयो । उहाँले निजी स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण चिकित्सकहरुलाई आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिन आग्रह गर्नुभयो । निजी मेडिकल सञ्चालकले मानसिक दबाब दिएर आत्मसम्मानमाथि गम्भीर प्रहार गरेको उहाँको भनाइ छ । उहाँले आन्दोलन व्यक्तिगत स्वार्थको लागि नभइ सम्पूर्ण आवासीय चिकित्सकको भविष्य, अधिकार र आत्मसम्मानका लागि भएको बताउनुभयो ।
संघले आन्दोलन गर्नु बाध्यता भएको बताएको छ । सर्वसाधारणमा पर्न गएको असुविधाप्रति संघले माफी माग्दै यसको सम्पूर्ण जिम्मेवार सरकार हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्