११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


उपसभापति वाग्लेको नेतृत्वमा बजेट अधिवेशनमा छलफल अघि बढाउने रास्वपाको निर्णय


832
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा संसद्को बजेट अधिवेशनमा छलफल अगाडि बढाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेट अधिवेशन प्रभावकारी बनाउनको लागि उपसभापति वाग्लेको नेतृत्वमा संसद्मा छलफल र बहस गर्ने निर्णय गरेको हो । संसदीय दलको बैठकपछि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभापति वाग्लेको नेतृत्वमा बजेट अधिवेशनमा छलफल, बहस र संवाद अगाडी बढाउने निर्णय गरिएको बताउनुभयो । उहाँले बजेट अधिवेशनमा नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्तहरु लगायतका विषयवस्तुमाथि छलफल र बहसमा भाग लिएर देश र नागरिको हितमा संसद्मा भुुमिका निभाउने जिकिर गर्नुभयो ।

रास्वपाको गत वैशाख ४ गते बसेको केन्द्रिय समितिको बैठकले शिक्षकहरुको आन्दोलन, उनीहरुका माग र मुद्दाहरुको अध्ययन र संसद्मा प्रस्तुत हुने विद्यालय शिक्षा विधेयकको विषयमा छलफल गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार शिक्षाका माग पूरा गराउनको लागि संसद्मा प्रभावकारी भुमिका खेल्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका डा. तोषिमा कार्की र सुमना श्रेष्ठ तथा पूर्वशिक्षामन्त्री शिशिर खनालको टिम बनाउने निर्णय गरिएको प्रमुख सचेतक परियारले बताउनुभयो ।

रास्वपाले निजामति सेवा ऐनका विषयमा छलफल भएको बताएको छ । संसदको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुदैँछ ।