११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार


1.222k
Shares

काठमाडौं । पर्साको वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट ८ जना किशोरको उद्धार गरिएको छ ।

रक्सौलबाट मधेश प्रदेशका विभिन्न जिल्लाका ८ जना किशोरको उद्धार गरी उनीहरूलाई आफन्तको जिम्मा लगाइएको हो ।

राम्रो तलवको प्रलोभन देखाई उनीहरूलाई एक नक्कली नेटवर्किङ कम्पनीमार्फत वन्धक बनाई तालिम दिइँदै गरेको अवस्थामा फेला पारिएको थियो । भारतीय प्रहरीले गत मार्च २९ मा उक्त स्थानमा छापा मार्दा ८ जना किशोरसहित ५६८ जना व्यक्ति पक्राउ परेका थिए ।

उद्धार गरिएका किशोरहरूलाई रक्सौलस्थित दुई वटा निजी अपार्टमेन्टमा राखिएको थियो । वीनमेकर नामक नक्कली कम्पनीको नाममा उनीहरूलाई नेटवर्किङ व्यवसायको तालिम दिइँदै थियो । प्रारम्भिक अनुसन्धानबाट ती किशोरहरू सबै १८ वर्षभन्दा कम उमेरका रहेको र प्रलोभनमा परी भारत पुगेको पुष्टि भएको हो ।

पक्राउ परेपछि उनीहरूलाई दिल्लीस्थित एक सुधार गृहमा राखिएको थियो । उनीहरूलाई किन इन्डिया संस्थाका प्रतिनिधि नवीन जोशी र राष्ट्रिय बाल अधिकार परिषद्, मधेश प्रदेशका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोको सक्रियतामा उद्धार गरिएको हो ।

बिहीबार ती किशोरहरूलाई सुरक्षित रूपमा नेपाल फर्काई परिवारजनको जिम्मा लगाइएको छ । उनीहरूलाई झुटो आश्वासन दिएर योजनाबद्ध तरिकाले राखिएको किन इण्डियाका प्रतिनिधि जोशी बताउनुभयो ।

कम्पनीका कर्मचारीहरूले चिनजानका साथीभाइलाई समेत राम्रो आम्दानी हुने भन्दै बोलाई त्यहाँ पु¥याउने कार्य गरिरहेको पाइएको छ । जोशीकाअनुसार उक्त कार्यमा संलग्न गिरोहविरुद्ध थप अनुसन्धान र कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।