
काठमाडौं । आवासीय चिकित्सकहरुलाई आठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिन माग गर्दै चिकित्सकहरुले आज पनि आन्दोलन गरेका छन् ।
शुक्रवार माइतीघर मण्डलामा भेला भइ निजी अस्पतालहरुमा काम गर्ने चिकित्सकहरुले आठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिन माग गर्दै आन्दोलन गरेका हु्न् । चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले नेपालभर आवासीय चिकित्सकहरुलाई आठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो ।
गत वर्षको माघ २५ गते भएको उक्त निर्णय कार्यान्वयनमा सरकारले गम्भीरता नदेखाएको र निजी मेडिकल कलेजहरुले समेत दिन नसक्ने भनिरहेको भन्दै त्यसप्रति सचेत गराउनका लागि आफूहरुले आन्दोलन गरिरहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले बताउनुभयो । उहाँँले चिकित्सा शिक्षा आयोगको उक्त निर्णय कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने बताउनुभयो । २९ दिनसम्म आउँदा पनि कतैबाट सुनुवाई नभएपछि नेपाल चिकित्सक संघले नेतृत्व गरेर आन्दोलन भइरहेको बताउनुभयो ।
डा. कार्कीले उहाँले सडकमा रहेका चिकित्सकहरुलाई विभिन्न मेडिकल कलेजबाट शारीरिक, शैक्षिक, भौतिक विभिन्न किसिमका कारबाही गर्ने चेतावनी प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आएको भन्दै दुःख व्यक्त गर्नुभयो । १६ औं बैठकका निर्णय कार्यान्वयन हुनुपर्ने र निजी मेडिकल कलेजले दिएको मानसिक तनावप्रति क्षमा मागेर काममा ससम्मान फर्काउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्