१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


‘राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छु’


1.521k
Shares

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित समितिका संयोजक नवराज सुवेदीले नेपालमा राजसंस्थाको पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताउनुभएको छ ।

तीनकुने घटनाका बारेमा सत्यतथ्य छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग तथा नेपालस्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्च आयोगमा ज्ञापनपत्र बुझाएपछि आपयोजित पत्रकार सम्मेलनमा संयोजक सुवेदीले यस्तो बताउनुभएको छ । उहाँले राजसंस्था पुनर्स्थापना हुनुपर्ने, नेपाल हिन्दु राष्ट्र कायम हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने लगायतका माग रहेको बताउनुभयो ।

संयोजक सुवेदीले आफूहरुले शान्तिपूर्ण आन्दोलनका मार्फत् आफ्ना कुरा राख्न चाहेको बताउनुभयो । उहाँले शान्तिपूर्ण विरोधका कार्यक्रममा कसैले आक्रमण गर्छ भने आफूहरु प्रतिकार गर्न तयार रहेको बताउनुभयो । राष्ट्रिय झण्डाको दुरुपयोग गरी आन्दोलन गरेको भन्ने आरोप छ नि भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले राष्ट्रिय झण्डा बोक्ने मान्छेलाई झण्डाको दुरुपयोग भन्ने मान्छे नै अराष्ट्रिय भएको तर्क गर्नुभयो । पहिला देशलाई सुरक्षित बनाएर आफ्ना आफ्ना झण्डामुनि बसेर राजनीति गर्नुपर्ने उहाँको भनाइ छ ।

संयोजक सुवेदीले विश्वका धेरै देशमा वृद्ध अवस्थाका नेताहरुले धेरै ठूला कामहरु सफल पारेको तर्क गर्दै आफूले राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र नेपाल र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न आफू सक्षम रहेको जिकिर गर्नुभयो ।