१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानून निर्माणको तयारीमा छौं : मन्त्री भण्डारी


377
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको बौद्धिक सम्पत्तिसम्बन्धी कानूनलाई सरकारले नयाँ ढंगबाट अगाडि बढाउने तयारी भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा ‘बौद्धिक सम्पत्ति दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले विश्वव्यापी बौद्धिक सम्पत्तिको सन्दर्भमा नेपालमा नयाँ कानून आवश्यक भएको बताउनुभयो । उहाँले नेपाली मौलिकतासँग जोडिएका विषयहरुलाई लिपिबद्ध गरी पेटेन्ट राइटलाई सुरक्षित गर्नेगरी कानून निर्माण प्रक्रियामा सरकार लागेको बताउनुभयो ।

उद्योगमन्त्री भण्डारीले समितिमा छलफलमा रहेको बौद्धिक सम्पत्ति सम्बन्धी कानून छिट्टै मन्त्रिपरिषद्मा निर्णय गराएर संसदमा प्रवेश गराउने तयारीमा लागेको बताउनुभयो । पेटेन्ट राइटबारे अहिले भइरहेको कानूनले सम्बन्धित विषयमा आएका उजुरीका विषयमा मात्रै अल्झाइरहेको उहाँको भनाइ छ ।

उद्योगमन्त्री भण्डारीले नेपालभन्दा पछाडि परेका कतिपय देशहरु पेटेन्ट राइट सुरक्षित गरेकै कारण विश्व बजारबाट फाइदा लिएर अघि बढ्न सकेको बताउनुभयो । बौद्धिक सम्पत्तिसम्बन्धी नेपालको कानूनलाई व्यवसायी र सरकारको फरक बुझाइ तथा न्यायालयले गर्ने फरक व्याख्याका कारण पनि समस्या भएको उहाँको भनाइ छ ।

उद्योगमन्त्री भण्डारीले पूर्खाले सिर्जना गरेका कतिपय बौद्धिक सम्पतीको नाममा संस्था खोलेर त्यसको परिचय दिएपनि पेटेन्ट राइट सुरक्षित गर्न कसैको ध्यान जान नसकेको बताउनुभयो । उहाँले विदेशीको डिजाइन र पेटेन्टलाई नक्कल गरेर वस्तु बजारमा पठाउँदा आफ्नै आविष्कार, डिजाइन तथा उत्पादनमा पछि परेको बताउनुभयो । उहाँले पेटेन्ट राइटका लागि पूर्खाले छोडेर गएका अनेकौँ संस्कृतिसँग जोडिएका विषय वस्तु भएको बताउनुभयो । कतिपया पेटेन्ट राइटका विषयहरु दर्ता गरेर त्यसको नविकरण नगर्दा समस्या देखिएको उहाँको भनाइ छ ।

उद्योगमन्त्री भण्डारीले कुनैपनि विषय वस्तुलाई बौद्धिक सम्पतीको रुपमा विकास गर्न र पेटेन्ट राइटको सुरक्षा गर्न निजी क्षेत्रले आफ्नो उत्पादन तथा आविष्कारलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।