१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


विधेयक जसो पायो त्यसै पारित हुन नदिनुस् : ओली


6.448k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधेयकहरुमा कमी कमजोरी भए सच्याएर पास गर्ने ल्याकत राख्नुपर्ने बताउनुभएको छ ।

शनिबार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चालु अधिवेशनमा वर्षभरको राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिलाई गाइड गर्ने बजेट ल्याइने बताउँदै यसले नै देशलाई कता लैजाने, कसरी लैजाने, कसरी विकास गर्ने भन्नेकुरालाई गाइड गर्ने उल्लेख गर्नुभयो । यसमा आत्मकेन्द्रित भएर नभइ गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्र र जनता केन्द्रित भएर काम गर्न निर्देशन दिनुभयो । चालु अधिवेशनमा धेरै विधेयकहरु पारित गर्नुपर्ने भन्दै विधेयक जसो पायो, त्यसै पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभयो । ठिक विधेयक पारित हुनुपर्ने र गलत विधेयकले देशलाई वैचारिक, व्यवहारिक हिसावले गलत दिशामा लैजानसक्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले एमसिसी अब नआउनसक्ने भन्दै एमसिसी आएन भने सहेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । राष्ट्रका बीचमा गरिएका सम्झौताहरु आफ्नो देशको कानून भन्दा माथि हुने जिकिर गर्नुभयो ।