
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताउनुभएको छ ।
भारत, काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा शनिबार भएको कार्यक्रमा उहाँले ने पाल सधैं आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट पार्नुभएको हो ।
‘नेपालले आतंकवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ,’ भन्नुभयो ।
आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै उहाँले नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताविरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । यसैले काश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भत्र्सना गरेको मन्त्री राणाले बताउनुभयो ।
परराष्ट्रमन्त्री राणले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको र आतंकवादविरुद्धको लडाईंमा भारतसँग काँधमा काँध मिलाएको बताउनुभयो ।
नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै परराष्ट्रमन्त्री राणले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि रहेको उल्लेख गर्नुभयो ।
उहाँले पहलगाम त्रासदीको सिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद पनि दिनुभयो ।
उहाँले उक्त आतंवादी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्