१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


शिक्षा ऐन तत्काल पारित गर्न झलनाथ खनालको आग्रह


598
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले शिक्षक आन्दोलनमाथि दमन गर्नु सरकारको शिक्षाविरोधी चरित्र भएको अरोप लगाउनुभएको छ ।

काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सोमबार ऐक्यवद्धता जनाउन आन्दोलनस्थल पुग्नुभएका पार्टीका अध्यक्ष माधव नेपालसहितका नेताहरुले शिक्षकहरुको आन्दोलनमा आफ्नो पार्टीको ऐक्यवद्धता जनाउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले शिक्षक आन्दोलन एक महिना पुग्न लाग्दासमेत शिक्षकको माग बेवास्ता गरेर दमनमा उत्रिएको सरकारको एकीकृत समाजवादीले घनघोर भत्र्र्सना गरेको बताउनुभयो । उहाँले शिक्षकहरुको माग तत्काल पूरा नगरे अर्को जनआन्दोलनको प्रतिक्षा गर्न सरकारलाई चुनौति दिनुभयो । उहाँले तत्काल शिक्षा ऐन पारित गरेर लागू गर्न सरकारलाई आग्रह गर्नुभयो । शिक्षकको माग नसुन्नु सरकारको दिशाहिनता र अराजकताको पराकाष्ठा भएको उहाँको भनाइ छ ।

नेता खनालले शिक्षाको विकास गर्न कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नुपर्ने बताउनुभयो । शिक्षामा लगानी गर्न प्रशस्था बजेट भएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा शिक्षामा कुल बजेटको १६ प्रतिशत लगानी गरेको भन्दै उहाँले त्यसपछिको कुनैपनि सरकारले त्यति बजेट शिक्षा क्षेत्रका लागि नछुट्याएको दाबी गर्नुभयो । उहाँले जनताले तिरेको राजश्वलाई सही ढंगले परिचालन गर्नुपर्ने जोड दिनुभयो ।

नेता खनालले शिक्षकहरुको माग पूरा नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई समर्थन गर्ने बताउनुभयो ।