२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


परराष्ट्रमन्त्री ज्ञवाली विभिन्न बैठकमा सहभागी


0
Shares

सुरेन्द्रबहादुर नेपाली (रासस)

न्यूयोर्क, असोज १२ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार संयुक्त राष्ट्रसंघको महासभाबाहिर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मन्त्रिपरिषदस्तरमा एक अनौपचारिक दिवाभोजको आयोजना गरे ।

उक्त भोजमा सार्क सदस्य मुलुकका विदेशमन्त्रीहरूको सहभागिता रहेको संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त भोजको आरम्भमा मन्त्री ज्ञवालीले सार्कका प्रक्रिया यस क्षेत्रका जनताको भलाइका लागि प्रभावकारी तथा नतिजामूलक हुनुपर्नेमा जोड दिए ।

सहभागी मन्त्रीहरूले पनि सार्क शिखर बैठकले गरेको निर्णयको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए ।

उनीहरुले सार्क प्रक्रियालाई पुनः सशक्त बनाउने विभिन्न विषयमा छलफल गरेको विज्ञप्तिमा बताइएको छ ।

यसैबीच, परराष्ट्रमन्त्री ज्ञवालीले ७७ मुलुक तथा चीनको वार्षिक मन्त्रिस्तरीय बैठकमा भाग लिए । उक्त बैठकमा ‘युवा रोजगारी तथा उत्पादक क्षमतामा सीमाको प्रभावका मुद्दा’मा छलफल भएको थियो ।

यसैगरी, परराष्ट्रमन्त्री ज्ञवालीले मध्यस्थताका मित्रहरूको समूहको उच्चस्तरीय मन्त्रिस्तरीय बैठकमासमेत भाग लिए ।

पराष्ट्रमन्त्री ज्ञवालीले शुक्रबारै नर्वेका अन्तर्राष्ट्रिय सहयोगमन्त्री निकुलाई एस्ट्रपसँग भेटवार्ता गरे । भेटवार्तामा नेपालमा नर्वेको सहयोगका साथै अन्य विषयमा छलफल भएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिहीबार साँझ संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक प्रमुख राजदूत निर्मलराज काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओली तथा संयुक्त राष्ट्रसंघको महासभाको ७३ महाधिवेशनमा भाग लिन आएको नेपाली प्रतिनिधिमन्डलका सदस्यहरूको सम्मानमा एक रात्रिभोजको आयोजना गरे । रासस