९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


राष्ट्रकवि घिमिरेलाई काठमाडौंमा भव्य नागरिक अभिनन्दन (भिडियोसहित)


0
Shares

सुशनसर्जन रामदाम/प्रदीप तामाङ (इमेज)

काठमाडौं, असोज १३ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको शताब्दी वर्षगाँठको अवसरमा काठमाडौं महानगरपालिका र नागरिक समाजको तर्फबाट नागरिक शतवार्षिकी अभिनन्दन गरिएको छ ।

नेपाली साहित्यका शिखरपुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शनिबार रथारोहणसहित भव्य अभिनन्दन गरिएको हो ।

लैनचौर, कपुरधारास्थित निवासबाटै काठमाडौंका विभिन्न क्षेत्रको परिक्रमा गराएर घिमिरेलाई अभिनन्दन गरिएको हो ।

नेपाली सेनाको बाजागाजासहित घिमिरेको रचना ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे..’ भन्ने गीत गुन्जिँदा कार्यक्रममा उपस्थित सबैजना देश र कविप्रति समर्पित भएझैं देखिन्थ्यो ।

वि.सं. १९७६ साल असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मिएका घिमिरेको यही असोज ७ गते राष्ट्रप्रमुखकै उपस्थितिमा भव्यरुपले जन्मदिन मनाइएको थियो ।

रथारोहणपछि राष्ट्रिय सभागृहमा आयोजित सम्मान कार्यक्रममा अतिथिहरुले प्रत्येक नेपालीमा माटोप्रतिको प्रेम जगाउन घिमिरेले अतुलनीय योगदान पुर्‍याएको भन्दै उच्चसम्मान प्रकट गरेका थिए ।

कविवर घिमिरेलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाली चलचित्र क्षेत्रका हस्ती राजेश हमाललगायतले सम्मानपत्र प्रदान गरी सम्मान अर्पण गरेका थिए ।

१०० वर्षको उमेरमा पनि १६ वर्षे ठिटोजस्तै क्रियाशील घिमिरेको प्रस्तुत् र हाउभाउलाई देखेर सबै उपस्थित दंग परेका थिए ।

मधुर मुस्कानमा उपस्थित भएका घिमिरेबाट व्यक्त अभिव्यक्ति साँच्चै मर्मस्पर्शी थिए ।

मन सफा राखेर सबैले सबैको हित चाहनुपर्ने भन्दै उनले देश बनाउन सबै लाग्नुपर्ने बताए ।

नागरिक अभिनन्दनमा मानवसागर उर्लिएको देख्दा अत्यन्त हर्षविभोर भएको भन्दै राष्ट्रकवि घिमिरेले सबैलाई धन्यवादसमेत दिए ।

निरन्तरको साहित्य साधना, क्रियाशील जीवन र सबैको हित चाहने बानीकै कारण आफू १०० वर्ष जीउन सकेको राष्ट्रकवि घिमिरेको सबैलाई सन्देश रहेको छ ।

भिडियो हेर्नुहोस्