९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


‘टिष्टुङ चिनारी’ विमोचन, गोपालवंशदेखि गणतन्त्रसम्मका विषयवस्तु समावेश


0
Shares

काठमाडौं, असोज २६ । पत्रकार एवं लेखक रामजी बलामीको दोश्रो पुस्तक ‘टिष्टुङ चिनारी’ विमोचन गरिएको छ । प्रमुख अतिथि प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रत्यायोजन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी, प्रतिनिधि सभाका सांसद विरोध खतिवडा, थाहा नगरपालिकाका मेयर लवशेर बिष्ट, वडाध्यक्ष शशिधर सुवेदी, टिष्टुङ महोत्सव मूल समारोह समितिका संयोजक ईन्द्रबहादुर श्रेष्ठ लगायतले पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकमा उत्तरी मकवानपुरको थाहानगरस्थित ऐतिहासिक बस्ती टिष्टुङको गोपालवंशदेखि गणतन्त्रसम्मका विषयवस्तुहरु समावेश छन् । नाम हराएको ठाउँ टिष्टुङका बारेमा वास्तविक जानकारी प्राप्त गर्न पुस्तक उपयोगी हुने वक्ताहरुले बताए ।

पुस्तकमा यो ठाउँको नाम कसरी टिष्टुङ हुन पुग्यो, कसरी बज्रबाराही हुन पुग्यो र अहिले कसरी थाहा नगरपालिका भयो भन्ने कुराहरु उल्लेख छ । त्यस्तै, पुस्तकमा टिष्टुङको भौगोलिक बनावट, हावापानी, वनजंगल, जीवजन्तु लगायतका विषयहरु पनि समावेश छन् ।

पुस्तकमा तीनवटा लिच्छविकालिन शिलालेखहरुका बारेमा विस्तृत व्यहोरा उल्लेख छ भने अन्य शिलापत्रहरु र कुन्छाल, टौखेल, कलाँटु, चित्लाङ लगायत ठाउँमा रहेका शिलालेख, लालमोहर र ताडपत्रहरुका बारेमा समेत उल्लेख छ ।

पुस्तकमा स्व. रुपचन्द्र बिष्टको थाहा अभियानलाई पनि समावेश गरिएको छ । त्यसैगरी यहाँ भएका बित्तीय संघसंस्था र भूकम्पले पारेको असरका बारेमा पनि पुस्तकमा समावेश छन् ।

टिष्टुङलाई भित्रैदेखि चिन्न चाहनेहरुका लागि यो पुस्तक उपयोगी छ । पुस्तकमा इतिहासदेखि वर्तमानसम्म आईपूग्दा टिष्टुङमा भएका परिवर्तनहरुलाई समावेश गरिएको छ ।