
सल्यान, असार ९ । जिल्लाको त्रिवेणीमा विद्यालय गएका एकजना बालक मृत अवस्थामा भेटिएका छन् ।
त्रिवेणी गाउँपालिका–२, रिखेबगर निवासी डिल्लीबहादुर बुढाथोकीका साढे ४ वर्षीय छोरा दीपक बुढाथोकी शुक्रबार बेलुकी मृत अवस्थामा भेटिएका हुन् ।
खेत जोतेर फर्किन लागेका स्थानीय रामबहादुर भण्डारीले बेलुकी शारदा नदीमा डुबेको अवस्थामा बालकको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीय मेरिगोल्ड बोर्डिङ्बाट पढेर घर फर्किने क्रममा पौडी खेल्न खोज्दा बालकको डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
बालकका बुबा हाल वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुहामले जनाएको छ ।
यता, पर्वत जिल्लाको मोदी गाउँपालिका–२ देउपुरमा करेण्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।
मोदी–२, देउपुरस्थित सिमखेतका ७५ वर्षीय ऋषिराम शर्माको आज बिहान करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
तरकारीका लागि थाँक्रो काट्न गएका वृद्धलाई विद्युत्को थ्रीफेज लाइनमार्फत बुटामा विद्युत् प्रवाह भएकाले करेण्ट लागेको प्रहरीले जनाएको छ ।
विद्युत्को तारलाई छोएको बुटामा चढेर हाँगा काट्दा करेण्ट लागेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा लगिएको मोदी–२ का वडाध्यक्ष विकास तिमिल्सिनाले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्